काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले मूल्य अभिवृद्धि कर (भ्याट)को दर १० प्रतिशतमा झार्न सुझाव दिएको छ। अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीलाई आफ्नो सुझाव बुझाउँदै उसले अहिले १३ प्रतिशत रहेको भ्याटको दर १० प्रतिशतमा झार्न सुझाव दिएको हो।
चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइएको ढुवानीमा भ्याट र सरकारी ठेक्काको ५० प्रतिशत रकम सम्बन्धित निकायले नै बुझाउने व्यवस्था खारेजीको माग पनि चेम्बरले गरेको छ।
चेम्बरले व्यक्तिको सम्बन्धमा ७ लाख र दम्पतिको सम्बन्धमा ८ लाखको कर छुटको सिमा गरिनु पर्ने माग राखेको छ। छुटपछिको पहिलो २ लाख ५० हजारमा १० प्रतिशत कर लाग्ने व्यवस्था हुनुपर्ने पनि उसको सुझाव छ।
चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले सचिव पुडासैनीलाई बुझाएको सुझावमा कर्पोरेट आयकर ५ प्रतिशतले घटाउनुपर्ने उल्लेख छ। मोबाइल फोनमा लगाइएको अन्त:शुल्क खारेजीको सुझाव पनि चेम्बरले दिएको छ।
कोरोना प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन कूल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्मको प्याकेज ल्याउनुपर्ने उसको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।