काठमाडौं- सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको गाउँमा मानिसहरूको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार आइतबार बिहानैबाट नगरपालिकाको वडा नम्बर ७ र ८ सहित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक र सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको हो। स्वास्थ्य केन्द्र, सो नगरपालिकको वडा नम्बर ९, ८ र ७ मा सिल गरी स्वाब संकलन टोली परिचालन गरिएको कार्यालयले जनाएको छ।
जेठ १ धुलिखेल अस्पतालमा भर्ना भएकी ती महिलाको सोही दिन राती निधन भएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो। उनको हिजै पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिएको छ। स्वास्थ्य कार्यालयले मृतक महिलाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
ती महिलाको नवजात शिशु, श्रीमान्, सासू र बहिनी धुलिखेल अस्पतालको आइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।