बाँके - बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो।
भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत पर्सन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहनुभएको छ । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ।
भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिकामा निर्माण भएका पाँच क्वारेन्टिनमा १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टिन छन् । खजुरामा २४ र बैजनाथमा ३० नेपाली क्वारेन्टिनमा रहेको फोकल श्रेष्ठले जानकारी दिए।
राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टिनमा ३९, नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिनमा २३ र नेपाली सेनाले बनाएको क्वारेन्टिनमा ७४ जना बसिरहेको उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।