एजेन्सी–चिनियाँ मुलकी एक पत्रकारसँग विवाद भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबारको पत्रकार सम्मेलन बीचैमा छाडेर हिडेका छन्। सीबीएसकी ह्वाइटहाउस संवाददाता वेइजिया जियाङले सोधेको एक प्रश्नमा उनले ‘चीनसँगै सोध्न’ भनेपछि विवाद भएको थियो।
वेइजियाले ‘८० हजारभन्दा बढी अमेरिकीको मृत्यु भइसकेको अवस्थामा कोरोना भाइरसको परीक्षणलाई किन विश्वव्यापी प्रतिस्पर्धाको रुपमा हेर्नुहुन्छ?’ भनी सोधेकी थिइन्।
त्यसको जवाफमा ट्रम्पले भने,‘यो प्रश्न चीनलाई सोधेको भए हुन्थ्यो, मलाई नसोध्नुस्, यो प्रश्न चीनलाई सोध्नुस्, ठीक छ?’
त्यसपछि ट्रम्पले सीएनएनकी ह्वाइटहाउस संवाददाता केट्लान कोलिन्सतर्फ फर्किए। तर यहीबीचमा वेइजियाले पुनः प्रश्न सोधिन्,‘सर, तपाईंले किन विशेष रुपमा मलाई नै भन्नुभएको हो?’
‘मैले तपाईंलाई भनिरहेको छु,’ ट्रम्पले भने, ‘मैले कसैलाई विशेष रुपमा भनिरहेको छैन, मैले खराब प्रश्न सोध्नेलाई भनिरहेको छु।’
वेइजियाले पुनः भनिन्,‘त्यो कुनै खराब प्रश्न थिएन, किन त्यस्तो भयो?’
त्यसपछि ट्रम्पले अर्को प्रश्न लिन केही क्षण पत्रकारतर्फ हेरे।
वेइजियालाई प्रश्न सोध्न दिइरहेका सीएनएनकी पत्रकार कोलिन्स त्यसपछि माइक्रोफोन नजिक पुगिन्।
‘मेरा दुई प्रश्न छन्’ भनेर कोलिन्सले भन्नेबित्तिकै ट्रम्पले भने, ‘भो अब।’
कोलिन्सले ट्रम्पले आफूलाई पालो दिएको भन्दै प्रश्न सोध्ने जिकिर गरेपछि ट्रम्पले भने, ‘हो मैले दिएको थिएँ, तर तपाईंल्े कुनै प्रतिक्रिया जनाउनु भएन, अब पछाडिकी महिलालाई पालो दिन्छु।’
‘मैले त साथीको प्रश्न सकियोस् भन्ने चाहेकी थिएँ,’ कोलिन्सले पुनः दोहोर्याइन् ‘म प्रश्न सोध्न सक्छु?’
त्यसपछि ट्रम्पले सबैलाई धन्यवाद दिँदै पत्रकार सम्मेलन सकिएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।