कैलाली- कैलालीमा दादुरा- रुबेला खोप अभियान पुनः सुरु गरिएको छ। कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले स्थगित गरिएको अभियान आइतबारदेखि पुनः सुरु भएकाे स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका अनुसार आइतबार घोडाघोडी नगरपालिकाबाट दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाउने अभियान सुरु भएको छ। कार्यालयका अनुसार जेठ १ गते मोहन्याल गाउँपालिका र भजनी नगरपालिकामा सुरु गरिने छ भने अन्य पाँचवटा स्थानीय तहले जेठ १० गतेदेखि सुरु गर्ने जनाएका छन्।
कैलालीमा चैत १ गतेदेखि सुरु भएको अभियानअन्तर्गत टीकापुर, लम्कीचुहा नगरपालिका, जोशीपुर, वर्दगोरिया र जानकी गाउँपालिकाले १५ गतेभित्र नै खोप अभियान सम्पन्न गरिसकेका थिए। कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगंगा नगरपालिका, चुरे र कैलारी गाउँपालिकाले १० गतेदेखि अभियान सुरु गर्ने जनाएका छन्।
घोडाघोडीले सुरु गरेको अभियान सञ्चालनका लागि नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा केन्द्र तोकिएका छन्। नगरपालिकाको दरख स्वास्थ्य चौकीबाट अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले जानकारी दिए। दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाउने अभियानका लागि नगर स्वास्थ्य शाखाले नगरपालिकाका विभिन्न वडाहरुमा ४९ वटा खोप केन्द्र तोकेको छ भने एउटा खोप केन्द्रका लागि स्वास्थ्यकर्मी र स्वयंसेविका दुई/दुई जना गरी चारजनालाई खटाइएको नगर स्वास्थ्य शाखा प्रमुख रावतले बताए।
जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई आफ्नो नजिकैको पायक पर्ने खोप केन्द्रमा लगेर खोप लगाउन पनि नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ। यसपटक नगरपालिकाभित्र रहेका ९ महिनादेखि ५ वर्ष मुनीका करिब ८ हजार १ सय बालबालिकाहरुलाई दादुरा-रुबेला खोप दिने र ५ वर्ष मुनीका करिब ९ हजार एक सय बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने लक्ष्य रहेकोे नगर स्वास्थ्य शाखाले जनाएको छ।
पहिलो चरणको अभियानअनुसार नगर स्वास्थ्य शाखाले घोडाघोडी नगरपालिका दरख स्वास्थ्य चौकीअन्तर्गतका स्थानहरुमा विभिन्न मिति र स्थान तोकेको छ। बैशाख २८ र ३० गते राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा, बैशाख २९ गते छडी माध्यमिक विद्यालय बेलार, कपिलमुनि आधारभूत विद्यालय र विराट सनातन माध्यमिक विद्यालय घोडाघोडीमा रुबेला खोप तथा पोलियो थोपा खुवाउने नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।
त्यस्तै, बैशाख ३१ गते मोहन्याल आधारभूत विद्यालय नारायणपुर, सरस्वती आधारभूत विद्यालय निम्दी र समैजी आधारभूत विद्यालय जुरपानीमा सञ्चालन गरिने छ। जेष्ठ १ र २ गते नगर स्वास्थ्य केन्द्र सरैयामा, जेष्ठ १ गते दरख माध्यमिक विद्यालय हरिनगर र फारम आधारभूत विद्यालयमा खोप सेवा खोप सेवा उपलब्ध गराइने छ।
जेष्ठ ३ गते घोडाघोडी नगरपालिका वडा ७ को वडा कार्यालय भवनमा र जेष्ठ ४ दरख स्वास्थ्यचौकीमा सञ्चाल हुने गरी केन्द्र तथा स्थान तोकिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ। दादुरा–रुबेला खोप तथा पोलियो थोपा संचालन हुने तोकिएका खोप केन्द्रहरुमा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि खोप खेवा संचालन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।