आज २५६४औं बुद्ध पुर्णिमा। भगवान् गौतम बुद्धले यो संसार छाडेर जानुभएको पनि २ हजार ४ सय ८४ वर्ष पुगिसकेको छ। उहाँले यो धर्ति त्यागेर महापरिनिर्वाण प्राप्त गरेको यति लामो समय भइसके पनि उहाँका जीवनका कयौं कथा आज पनि उतिकै सान्दर्भिक छन्। भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक भिक्षुका रूपमा कपिलवस्तु आगमनको एक रोचक एवम् प्ररणादायी प्रसंगको छोटो चर्चा गरेर सम्झने प्रयत्न गर्नु यो आलेखको ध्येय हो।
बुद्धले ज्ञान प्राप्त गरेपछि बुद्धका पिता राजा शुद्धोधनले कपिलवस्तु आउन धेरै निमन्त्रणा पठाउनु भयो। तर जो राजा शुद्धोधनको खबर लिएर बुद्धका समीपमा पुग्छ ऊ पनि बुद्ध देशना सुनेर प्रभावित भई संन्यास लिएर बुद्धसंघमै बस्न थाल्दथ्यो। राजाले बुद्धालाई कपिलवस्तु फर्काउन कैयौं दूत पठाए। तर कसैले पनि बुद्धलाई ल्याउन सकेन। सबै भिक्षु बनेर उतै बसे।
अन्ततः राजा शुद्धोधनले बुद्धको बाल्यकालको आत्मीय मित्र कालुदायीलाई दूत बनाएर पठाउनु भयो। कालुदायी पनि बुद्धको भिक्षु बनेर संघमै सम्मिलित भए। तर उनले निरन्तर बुद्धलाई राजा शुद्धोधनको निमन्त्रणा सन्देश सम्झाइरहे। निरन्तर दुई महिनाको प्रयासमा बुद्ध एकपटक कपिलवस्तु फर्कन राजी भए।
कपिलवस्तु पुगेर बुद्ध निरोधग्राममा विश्राम गर्नु भयो। आफ्ना गाउँले तथा वंशजका सदस्यहरुसँग विविध विषयमा चर्चापरिचर्चा भयो। त्यहाँ उहाँले वेस्सतन्तर जातकको कथा पनि सुनाउनुभयो।
दोस्रो दिन बुद्ध आफ्नो नियमित दिनचर्याअनुसार भीक्षाटनका लागि कपिललवस्तुको सडकमा निस्कनु भयो। राहुलमाता यशोधराले पनि यो खबर सुन्नु भयो। उहाँले दरबार झ्यालबाटै नगरका सडकमा भिक्षाटन गर्दै गरेको अवस्थामा भिक्षु बुद्धलाई नियालिरहनु भयो। भिक्षु बुद्धको तेजस्वी व्यक्तित्व देखैर हृदयदेखि प्रसन्न भई गीतका लयमा केही छन्द कविता अभिव्यक्त गर्नभयो। यो 'नरसिंहगाथा'का नामले प्रचलित छ।
बुद्धि कटेल, लेखकदेशको भावी राजा हुनेवाला राजकुमार सिद्धार्थ राजधानीका सडकमा भीक्षापात्र लिएर भीक्षाटन गरिरहेको कुरा सुनेर राजा शुद्धोधनलाई असह्य पीडा भयो। तर जब उहाँले बुझ्नु भयो कि यो अशोभनीय काम होइन। नियमित दिनचर्या हो। तब उहाँले बुद्ध तथा बुद्धसंघका सम्पूर्ण भिक्षुलाई आतिथ्यता गरी भोजनका लागि दरबारमा निमन्त्रणा गर्नुभयो।
राजाको निमन्त्रणालाई स्वीकार गरेर बुद्ध तथा भिक्षुगण राजमहलको सभाहलमा उपस्थित भए। बुद्धवचन सुन्न दरबारका सम्पूर्ण पुरुष तथा महिलाहरू उपस्थिति भए। तर त्यो सभामा यशोधरा उपस्थित हुनु भएन। पुत्र राहुलका साथ आफ्नै कक्षमा रहनुभयो। किन बुद्धवचन सुन्नका लागि आउनुभएन भनेर सोध्दा उहाँले भन्नुभयो- यदि मेरो साधना सही छ भने बुद्ध स्वयम् मेरो कक्षमा आउनुहुनेछ।
अन्तत उहाँको साधना सत्य प्रमाणित भयो। दुईजना विशिष्ट भिक्षुका साथ बुद्ध राहुलमाता यशोधराको कक्षमा पुग्नुभयो। यशोधराले जमिनसम्म शिर निहुराएर दण्डवत् प्रणाम गर्नुभयो।
बुद्ध दरबार छाडेर सन्यास लिएपछि यशोधराले पनि सादगी जीवन जिउन शुरु गर्नुभएको थियो। भोगविलासरहित गेरुवस्त्र धारण गरी एक छाक मात्र भोजन गरी आचारमा रहने बुद्धको जीवनशैलीबारे यशोधराले पनि सुन्नु भएको थियो। त्यही आचरण उहाँले दरबारमा पनि पालना गर्नु भएको थियो। त्यसैका प्रभावले बुद्धलाई यशोधराको कक्षसम्म डोर्याएको थियो। बुद्धले यशोधराको साधना (शिल)को प्रशंसा गर्दै चन्दकिन्नर जातककथा सुनाउनु भयो।
यशोधरा पूर्वजन्ममा किन्नरी भएको र त्यसबखत उहाँको पतिलाई कसैले हत्या गरेको थियो भन्ने चर्चा हुने गरेको छ। यशोधराको साधनाबलले नै आफ्ना मृत पतिलाई पनि उनले जीवित बनाएकी थिइन्। कथाअनुसार बुद्ध र यशोधराको सम्बन्ध जन्मौंदेखिको थियो।
भगवान् बुद्धले कपिलवस्तु प्रवेश गरेको सात दिन बितिसकेको थियो। सातौं दिन बुद्ध कपिलवस्तुबाट फर्कने तयारीमा लाग्नुभयो। यशोधराले बालक छोरा राहुललाई जाऊ तिमी आफ्नो पितासँग उत्तराधिकार माग भनी बुद्धका साथ पठाउनुभयो। बुद्धले बालक पुत्र राहुललाई पनि बुद्ध संघमा शरण दिनु भयो। गौतम बुद्धकि पत्नी र राहुलकी माताका रुपमा यशोधराको त्याग बुद्धको बुद्धत्व प्राप्तीमा अवर्णनीय रहेको प्रसंग विभिन्न कथाहरूमा सुन्न सकिन्छ, पढ्न पाइन्छ।
बुद्धसंघमा शुरुका दिनमा स्त्रीलाई भिक्षुको जस्तो साधनामा सम्मिलित हुने व्यवस्था थिएन। जुन दिन माता महाप्रजापति गौतमीको अनुरोधमा बुद्धले स्त्रीलाई पनि सन्यास साधनाको सुरुवात गराउनुभयो, त्यही दिन महाप्रजापति गौतमीका साथ यशोधरा पनि भिक्षु संघमा प्रवेश गरी धर्म, साधना र संघ हितका लागि बाँकी जीवन समर्पण गर्नुभयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।