रसुवा– २३औं वन्यजन्तु सप्ताहको अवसर पारेर रसुवामा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। पर्यटन प्रवद्धन तथा जैविक विविधताको संरक्षणका लागि हरेक वर्ष जस्तै यो वर्ष पनि लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता संचालन गर्न लागिएको हो।
समृद्धिका लागि वन्यजन्तु संरक्षण भन्ने नाराका साथ संरक्षण सम्बन्धी विविध कार्यक्रम आयोजना गरी साताव्यापी रुपमा मनाइने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।
वन्यजन्तु सप्ताहको अवसरमा वैशाख १ देखि ७ सम्म सञ्चालन हुने उत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शन, जरायो नाच, रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता, पार्क भर्सेज जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, मृग नाच प्रर्दशन, ग्रिन कन्सर्ट लगायतका कार्यक्रम गरिने प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए।
लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्ला समन्वय समितिले संयुक्त रुपमा उत्सवको आयोजना गर्दै आएका छन्। उत्सवमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको सहयोग रहनेछ। जिल्लाका पाँच वटा गाउँपालिका महोत्सवका लागि सहआयोजक रहेको बताइएको छ।
उत्सव तथा भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्यक्रमका मुख्य संयोजक लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोसका अध्यक्ष सन्तोष घलेले बताए। उत्सवमा करिब १० हजार मानिसको सहभागिता रहने आयोजकले जनाएको छ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र नेपाली सेनाका ९ वटा र निकञ्जका १० वटा पोस्ट छन्। २०३२ चैत ९ मा स्थापना गरिएको निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ।
निकुञ्जमा विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, सालक, चरिबाघ लगायतका वन्यजन्तु पाइन्छ। त्यस्तै, निकुञ्जमा एक सयभन्दा बढी वनस्पति, ४६ प्रजातिभन्दा बढी स्तनधारी जनावर, ३ सय १२ भन्दा बढी प्रजातिका चरा पाइन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।