बेमौसमी बाजाको रुपमा आएको अध्यादेश प्रकरणले ८ वैशाखबाट सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीच राजनीतिक दूरी बढेको देखियो। ओली इतरका गुटहरुले उनको खुलेर विरोध गरेका थिए। प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरु ओलीलाई ठेगान लगाउने समय यही हो भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिरहेको थिए। तर, ओली र उनी निकटस्थ नेता कार्यकर्ताहरु राजीनामा नदिनका लागि प्रयास गरिरहेका थिए।
प्रचण्ड-माधव गठबन्धनलाई समर्थन गर्दै आएका थिए बामदेव गौतम। पदको लागि मरिहत्ते गर्ने उनी ओलीद्वारा प्रधानमन्त्री बनाइदिने गुलियो प्रस्तावले प्रफूल्लित भए। फुरुफुरु गर्दै रातारात गुट परिवर्तन गरी ओलीकै पक्षधर बने। आफ्नो स्वार्थ मिलेमा जतिबेला जुन गुटमा पनि लहसिन सक्ने उनलाई वैशाख २० को नेकपाको स्थायी समितिको बैठकले अनुकूल समय मिलाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।
बामदेवको साथले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्सी तत्काललाई जोगिएको छ। तर, उनलाई प्रतिनिधिसभामा लैजानको लागि कुनै सांसदले आफूलाई आहुति दिनुपर्ने र सो स्थानमा बामदेवले चुनाव लडेर जित्नुपर्ने हुन्छ। विवादित छवि भएका र जनताबाट खासै नरुचाइएका व्यक्तिलाई फेरि जनताले स्वीकार्न मुश्किल छ। अर्कोतिर, आफ्नै पार्टीका व्यक्तिबाट फेरि पनि अन्तर्घात नहोला भन्न पनि सकिन्न।
पछिल्लो नेपाली राजनीतिका चतुर खेलाडी ओलीले आफ्नो हातबाट शक्ति र सत्ता दुबै फुत्किने अवस्था देखेपछि प्रचण्डलाई थामथुम र बामदेवलाई ललीपप देखाएर जोगाए। ओलीलाई हटाएर प्रधानमन्त्री बन्छु भन्ने लगभग निश्चिन्त बनेका माधव नेपालको सपना पनि बामदेवको अस्थिरताले पूरा हुन पाएन।
हुन त यो परिघटनाले ओलीको दम्भ पनि केही हदसम्म घटेको छ। बामदेवले ओलीको पद जोगाइदिएर सरकार, नेकपा र राष्ट्रलाई नै अस्थिर हुनबाट जोगाउन निर्णायक भूमिका खेले। आशा गरौं, पटकपटक आश्वाशन पाउँदै र ठगिंदै आएका बामदेवलाई यतिबेला ओलीले गुन तिर्नैपर्छ भन्ने सोच राखे भने उनलाई पनि केही त पक्कै हात लाग्ला।
बामदेव गौतमको अवस्था देख्दा मेरो गाउँका लालवीरे दाइको झल्को आउँछ। उनी किसानी काम गर्थे। हलो जोत्न र भारी बोक्न मात्र जान्ने उनी सोझा, इमानदार र कर्मठ मजदूर थिए। उनको दुर्भाग्य! उनी जवान हुँदै श्रीमतीले तीन सन्तान छाडेर अरुसँगै विवाह गरेर गइन्। यद्यपि, लालवीरे दाई कहिल्यै निराश देखिएनन्। पीडा भए पनि अनुहारमा कहिल्यै दुःखका बक्ररेखा नदेखाउने उनी रोमान्टिक र शारीरिक रुपमा हट्टाकट्टा देखिन्थे। उनको केबल एउटै चिन्ता थियो- कोही अर्की महिला पाए विवाह गर्ने र बाँकी जीवन उसैसँग बिताउने। पाउँदिन भन्ने लागेरै होला, अविवाहित महिलातिर उनले ध्यान दिएनन्। कोही एकल महिला उनको खोजीमा थियो।
उनी साँच्चिकै अनुशासित र सभ्य थिए। त्यसैले उनीबाट महिलाले असुरक्षा महसुस गर्नुपरेन।
हामी केटाकेटीहरुले ‘चीराचीरा काँकरी चीरा, कसका छोरा हौ बाबु लालवीर’ भनेर गाउँथ्यौं। उनी नाच्थे। वास्तवमा त्यो गीत लालवीरे दाइलाई नै हाँसीमजाक गर्न भनी बनाएका थिए, बुढापाकाले। उनी खाना पनि बढी खान्थे। त्यसैले आजभोलि पनि गाउँमा धेरै नाच्ने हलुका स्वभावको मान्छे र धेरै खानेहरुलाई लालवीरे भनेर ठट्टा गरिन्छ। मानौं कि, लालवीरे आशक्तिको बिम्ब हुन्।
पहिली श्रीमतिले अरुसँगै विवाह गरेपछि उनले थप दुई विवाह गरे। उनीहरुले फेरि अन्यसँगै विवाह गरे। उनीसँग लामो समय बसेनन्। दुई छोराहरुले विवाह गरे, विदेश गए, छोरीको पनि विवाह भयो।
उनी थप एक्ला भए। उमेर साठी कट्यो। उनलाई विवाहको रहर अझै मरेको थिएन। कोही मिल्दो महिला भेटिए विवाह गर्ने उनको चाह थियो। अझ बढ्दो थियो। उनको सोही चाहलाई बुझेर गाउँका बुढापाका, युवा र केटाकेटी समेत लालवीरे दाइलाई महिला खोजिदिने भन्दै आश्वासन दिन्थे र जिस्काउँथे। मैले पनि जिस्काएँ। तर उनी जिस्काएको र झुक्याएको पत्तो पाउँदैनथे। बानी परेरै होला, त्यसरी जिस्काउँदा र झुक्याउँदा पनि उनी रिसाउँदैनथे।
खासै कुनै अम्मल नभएका उनको साथमा केही पैसा जतिबेलै हुन्थ्यो। एकपटक त्यही पैसा गाउँका केही युवाहरुले उनलाई झुक्याइ आफूमध्येकै एक युवा युवतीजस्तो बनेर उनीसँग विवाहको नाटक समेत गरेछन्। रमाएका उनको खुसी केही बेर पनि टिकेन।
यतिबेला नेकपा उपाध्यक्ष बामदेव गौतमको अवस्था पनि उनै लालवीरे दाइको भन्दा कम छैन। फरक यत्ति हो, बामदेव बेलाबेला सत्ताको स्वाद पाएका सम्पन्न लाल कम्रेड। उनलाई ओलीले पार्टी महाधिवेशनमा आफूलाई सहयोग गरे निर्वाचन पश्चात् प्रधानमन्त्री बनेपछि एमालेको कार्यकारी अध्यक्ष दिने आश्वासन दिएका थिए। यसबीचमा ओली अध्यक्ष र प्रधानमन्त्री पनि भए उनलाई बाचा गरिएको पद हात लागेको छैन। त्यसको वैकल्पिक पद पनि पाएका छैनन्।
संसदीय चुनावमा नराम्रो हार भएपछि पनि उनलाई संसद र सत्तामा जाने हुटहुटीले छाडेको छैन। फलस्वरुप डोल्पा, काठमाडौं, कास्की र अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चेष्टा राखे। तर, उनको चाहना चाहनामै सिमित भइहेको छ। बरु सामाजिक सञ्जाल र मिडियामा उपहासको पात्र पनि बनिरहेका छन्।
प्रधानमन्त्रीबाट अध्यादेश जारी भएता पनि प्रतिपक्ष र सत्तापक्षकै तीव्र आलोचनापश्चात खारेज पनि भयो। अध्यादेश खारेज मात्र भएन ओलीले एकलौटी निर्णय गरी सरकार, नेकपा र लोकतन्त्रकै धज्जी उडाएको भन्दै दल र प्रधानमन्त्री दुवै पदबाट राजीनामा समेत मागियो। स्वयं बामदेव पनि राजीनामा माग्नेकै अग्रपंक्तिमा उभिए।
यतिबेला ओलीले बामदेवलाई आफूलाई सहयोग गरेमा संविधान संशोधन या कुनै क्षेत्रमा उपचुनाव नै गरेर भए पनि प्रधानमन्त्री बनाइदिने आश्वाशन दिएका छन्। पदका लालची र आफूलाई कसैले स्वार्थमा प्रयोग गरिरहेको हेक्का नपाउने बामदेव फेरि पनि ओलीको सारथी बने। उनले चाहे जस्तोगरी प्रधानमन्त्री बन्न सहज भने देखिंदैन। समकालीन नेताहरुको भनाई अनुसार, बामदेव नेपाली राजनीतिको लागि आवश्यक भएता पनि निर्णायक भूमिकामा पुर्याएर ‘फस्टम्यान’ बनाउन नहुने अस्थिर र अवसरवादी पात्र हुन्।
बामदेवमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हाँक्ने क्षमता छ भनिंदै आएको भएता पनि अहिलेको समय उनको लागि अनुकूल छैन। जालझेल तथा अन्तर्घात गरेर हराइएको या आफ्नै कमजोरीले हारेको भएता पनि बर्दियाका जनताले दिएको मतलाई आत्मसात गर्दै आगामी चुनावको लागि आफूमा विद्यमान कमजोरीहरुलाई सच्याउँदै आफ्नो अनुकूल वातावरण बनाउनुमै कम्रेड बामदेवको कल्याण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।