गार्जियन-साँझको ५ः४१ बजिसकेको छ। म चिन्तित छु। सँधै साँझ ठीक ५:३० बजे मलाई उनको फोन आउने गर्थ्यो। आजकाल म सँधै त्यही एक कलको पर्खाइका लागि तड्पिरहेको हुन्छु।
लियो विवाहित हो। लकडाउनले गर्दा ऊ अहिले आफ्नी पत्नी र दुई बच्चासँग घरमै थुनिएर बसेको छ। कोभिड-१९ ले हाम्रो प्रेमको आयाम नै बदलिदिएको छ।
हामी दुवैजना पेशाले लेखक हौं। म ५१ वर्षकी भएँ। मैले आफ्नो पति लन्डनरसँग सम्बन्धविच्छेद गरेर बसेको केही समय भयो। लियो‚ ४९ वर्षका भए। उनी म्यानचेस्टरमा बस्छन्। उनी एक विवाहित पुरूष हुन् भन्ने कुरा मलाई थाहा थियो। गत जुलाईको अन्तिम साता हामी एक साहित्य महोत्सवमा भेट भएका थियौं।
उनीसँग मेरो पहिलो कुराकानी नै पारिवारिक जमघटको विषयमा भएको थियो। त्यो एकतर्फी प्रेम थियो भनेर म भन्दिनँ। तर उनी रमाइला थिए‚ चलाख थिए। राम्रो शारीरिक बनावट। अँ... तर उनको व्यक्तित्वले मलाई अझ बढी तानिरहेको थियो। उनका हाँसउठ्दा कुराले न्यानोपनको आभास दिन्थ्यो।
विवाहित पुरूषहरू सीमाभित्र रहनुपर्छ भन्ने जानेरै म लियोसँग बिदा भएँ। त्यसको २ दिनपछि‚ एउटा फेसबुक म्यासेजले मलाई एकदमै हर्षित बनायो। एउटा हाँसउठ्दो म्यासेजबाट सुरू भएको हाम्रो कुराकानी गर्ने माध्यम ह्वाट्स एप हुँदै फोन कलसम्म पुगेको थियो। त्यसपछि छिट्टै हामीहरू दिनमा २ पटकसम्म कुराकानी गर्न थाल्यौं। प्रायः हामी घण्टौंसम्म बोलिरहन्थ्यौं।
उनकी श्रीमतीको कर्पोरेट अफिसको जागिर थियो। लियो घरबाटै काम गर्थे। ऊनले फेरि पनि मलाई भेट्न चाहेको कुरा सुनाइरहन्थे। तर म उनको त्यो कुरालाई बेवास्ता गरिरहन्थें। मैले बेवास्ता गरे पनि हामीबीच फेरि पनि भेट हुनेछ भनेर हामी दुवैको मनले भनिरहेको थियो।
नोभेम्बरको महिना थियो। हामीबीच फेरि लन्डनमा भेट भयो। शारीरिक सम्बन्ध पनि त्यही भेटमा भएको थियो। डिभोर्स भएपछि कसैसँग सँगै सुतेको पहिलो पटक थियो त्यो। केही तनाव पनि थपिएको थियो। तर त्यो एक किसिमको प्रेमिल तनाव थियो। त्यो समय धेरैजसो हामी हाँस्यौंं, बोल्यौं।
लियोले कहिल्यै पनि आफ्नी पत्नीको बारेमा नराम्रो भनेनन्। उनी सँधै नै ‘मेरी श्रीमती असल छिन्’ मात्र भनिरहन्थे। १६ वर्षदेखि उनीहरू सँगै छन्‚ तर अहिले उनीहरू शारीरिक सम्बन्धदेखि टाढा छन्। लियोका अनुसार उनकी पत्नीलाई लियोले ‘कपल थेरापी’ मा जानका लागि धेरै नै अनुरोध गरेका थिए। तर त्यो कुरालाई उनकी पत्नीले बेवास्ता गर्दै आएकी थिइन्।
लियोले मबाट शारीरिक सम्बन्धको आशा गरिरहेका थिए। लियो एक आकर्षक र सफल लेखक थिए। यदि उनले चाहेको भए अरू पनि कयौं पाउन सक्थे। विवाहित पुरूषसँगको सम्बन्धको विषयमा मैले कहिल्यै पनि गर्व महसुस गरिनँ। मैले यो विषयमा पश्चाताप पनि महसुस गरिनँ।
जाडोयाम र वसन्त ऋतुको सुरू–सुरुमा हामीले एकअर्कालाई धेरै भेट्यौं। सहरदेखि टाढा गएर कयौं दिन बिताउँथ्यौं। हामी ४ दिनका लागि फ्रान्ससमेत गएका थियौं। जब हामीलाई कोरोना भाइरसको संक्रमण बेलायतमा फैलन लागेको थाहा भयो। त्यसपछि हामीले एउटा तालको छेउमा एकअर्कालाई भेटेका थियौं। त्यो भेट एक प्रेमिल थियो।
भविष्यको बारेमा हामीले धेरैपटक आफ्ना सोचहरू साटासाट पनि गरेका छौं। तर लियोले उनका दुई सन्तानलाई धेरै नै माया गर्थे। लियोका अनुसार सुरूदेखि नै उनीहरू लियोका लागि खास थिए। त्यसैले पनि लियोको कान्छो छोरा ठूलो भएपछि लियो र म सँगै बस्ने सल्लाह हुन्थ्यो। यसले पनि लियोप्रति मेरो प्रेम अझ बढेको थियो। म प्रतिक्षा गर्न सक्छु। अहिले म मेरो काम‚ साथी र छोरीसँग नै धेरै समय बिताइरहेको हुन्छु।
आजकाल भने हाम्रो फोनमा हुने वार्तालाप लियोको दैनिकी र लकडाउनमा कस्ता कस्ता समस्याहरू छन् भन्ने विषयमा मात्र सीमित भएका छन्। यिनै कुराकानी जिन्दगीका एक किसिमका आयाम बनेका छन्। लकडाउनको ४ सातामा थुप्रैपटक फोनमा बोलेका थियौं हामी‚ लियोले आफ्नी पत्नीसँगका सम्बन्धका बारेमा कुरा गरिरहन्थे। तर यो कुरामा मलाई चित्त भने बुझ्दैनथ्यो। मलाई डर लाग्छ कतै उनले मसँग बोल्न छाड्ने त होइनन्? पक्कै कुनै दिन उनले मसँग बोल्न छाड्नेछन्।
पारिवारिक बोझबाट वञ्चित भएकाले पनि बेला–बेलामा म उनलाई हँसाउने प्रयास गर्थें। उनी पनि केही समयअघि मलाई यसैगरी नै हसाउने गर्थे। ४९ वर्षको उमेरमा पनि लियो पूर्णरुपमा स्वस्थ छन्। तर उनलाई केही हुन्छ कि भन्ने मलाई चिन्ता लागिरहन्छ।
यदि उनी बिरामी परिहाले भने मैले थाहा पाउँथें होला र? उनको ल्यान्डलाइनको नम्बर पनि त छैन मसँग। न त कुनै ठेगाना नै छ। मैले अहिलेसम्म उनको एक जना साथीसँग मात्र भेटेकी छु। यदि उनलाई केही नराम्रो भइहाल्यो भने? म त्यो फिल्ममा देखिने रहस्यात्मक पात्रजस्तो हुनेछु।
जिन्दगीको सबैभन्दा कठीन भाव भनेकै शक्तिहीनताको भाव हो। त्यो भाव‚ जब कसैसँग एक तमासले चलिरहेको वार्तालापका बीच आफैं पैदा भइदिन्छ। म एउटी अधीर नारी हुँ। म कसैको प्रतिक्षामा रमाउन सक्दिनँ। आज‚ अन्ततः लियोले ६ बज्नुभन्दा केही अगाडि फोन गरे‚ त्यसबेला मैले उनीसँग केही आवेग‚ केही सान्त्वना त केही ढाडसका शब्दहरू पोखें।
अहिले मेरो मनमा एउटैमात्र प्रश्न उठिरहेको छ-के म यो सबैबाट फेरि पनि गुज्रिन चाहन्छु? हामी सामान्य जीवनमा फर्किएपछि फेरि के हुन्छ‚ कसलाई थाहा हुन्छ र?
जब परिस्थिति आफूले चाहेभन्दा फरक भइदिन्छन्‚ त्यसबेला म धेरै नै दुःखी हुन्छु। तर कहिल्यै पनि हार खान्नँ(यो मेरो जीवनको सिद्धान्त हो।
मेरो ‘कोरोना अफेयर’ ले मेरो जीवनमा एउटा कुरा सिकाएको छ(वैवाहिक सम्बन्ध सकिएपछि पनि म फेरि कसैलाई प्रेम गर्न सक्ने रहेछु‚ कसैबाट प्रेम पाउन सक्ने रहेछु।
गार्जियनबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।