काठमाडाैं- हिउँमा फसेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ का सुरज लामाकाे सकुशल उद्धार गरिएको छ। रसुवाबाट घर आउने क्रममा वैशाख ६ गतेदेखि हराएका उनलाई १६ गते उद्धार गरिएकाे हाे।
उनलाई हेलिकाेप्टरबाट काठमाडौंमा ल्याइ अहिले सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ। उनको उद्धारमा पहल गरेका नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जानकारी दिए।
उनी गत बैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर हिँडेका थिए। बैशाख २० गतेसम्म श्रीमती सुत्केरी हुने समय तोकिएकाले उनी कम्पनीबाट बिदा नलिई घर हिंडेका थिए। निस्किएको भोलिपल्टदेखि नै सो क्षेत्रमा हिमपात सुरु भएपछि उनी सम्पर्कविहीन भएका थिए।
घर जाने बेलामा उनले बाटोमा खानका लागि केही सातु र सुत्न एउटा म्याट बोकेर हिँडेका थिए। तर, एकाएक हिउँ परेपछि हिंड्ने बाटो नै पुरियो र उनी सम्पर्कविहीन भए।

लामा रसुवागढी हाइड्रोपावरमा मजदुरी गर्दै आएका थिए। रसुवाको गोसाइँकुण्ड नजिकै तारेभीरमा आइपुगेपछि उनी हिउँमा फसेका थिए। लामाको खोजी गरिदिन बलेफी गाउँपालिका-४ का वडाध्यक्ष कालीप्रसाद लामाले आग्रह गरेका थिए। उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरीलगायतका निकायमा समेत खबर गरिएको थियो।
उनलाई बैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदी भन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। त्यतिबेला बेहोस अवस्थामा रहेका उनी अहिले सामान्य बोल्न सक्ने अवस्थामा रहेको सापकोटा बताउँछन्।

सामान्य बोल्न सक्ने भएपछि लामाले गोठमा आइपुग्दासम्म आफूले बोकेर ल्याएको सातु खाएर बाँचेको प्रतिक्रिया दिएका थिए। हिउँमा फसेपछि आफूले बोकेको म्याटलाई दुई टुक्रा पारेर शरीरमुनि ओछ्याउने र माथि ओड्ने गरेर पुनर्जीवन पाएको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।