धनगढी- कैलालीमा वन अतिक्रमण गरी अवैध रुपमा बनाइएका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिकाको विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउन सुरु गरेको हो।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन सव डिभिजन कार्यालय अत्तरिया र सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा अतिक्रमण हटाउने कार्य सुरु गरिएको बताए।
उनले मंगलबार गोदावरी नगरपालिका- १ स्थित चाहना सामुदायिक वन, दूर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्गमा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काइएको बताए। उनले बुधबार पनि दुर्गालक्ष्मी सामुदायिक वनमा रहेका भौतिक संरचना भत्काइएको बताए।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले सामुदायिक वन क्षेत्रमा बनाइएका एक दर्जन टहरा खाली गरिएको बताए। उनले खाली गरिएको एक हेक्टर वन क्षेत्रमा तारबार लगाउने तयारी भइरहेको बताए।
डिभिजन वन कार्यालय प्रमुख कँडेलले भने‚ ‘सुरुमा वनभित्र साना टहरा बनाउने‚ बिस्तारै पक्की संरचना बनाएर वन अतिक्रमण गर्ने प्रवृत्ति बढेपछि भत्काउने अभियान सुरु गरेका छौं।’
उनले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपेर अत्तरियालगायत विभिन्न स्थानमा वन अतिक्रमण तीव्र रुपमा वृद्धि भएको जनगुनासो आइरहेको बताए।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा तोकिएपछि सो क्षेत्रमा वन अतिक्रमण गरी भौतिक संरचना बनाउने क्रम लगातार वृद्धि भइरहेको स्थानीयको भनाइ छ। गोदावरी नगरपालिका- २ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले प्रदेशको स्थायी राजधानी तोकिएसँगै सो क्षेत्रमा विभिन्न बहानामा वन अतिक्रमण भइरहेको बताए।
कैलालीमा सुकुम्बासी, मुक्त कमैया, विद्यालय, क्याम्पस, मन्दिर, स्थानीय तहका वडा कार्यालयलगायतका नाममा वन अतिक्रमण भइरहेको बताए। उनले लकडाउन खुल्नेबित्तिकै अन्य क्षेत्रमा पनि अतिक्रमित वन क्षेत्र खाली गरिने बताए।
कैलालीका अत्तरिया, चौमाला, सुखड, भजनी, लम्की, हसुलिया, फूलबारी, लगायतका स्थानमा वन अतिक्रमण बढी देखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।