काठमाडाैं- स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको मुद्दामा बहस नसकिएपछि भाेलिका लागि हेर्दाहेर्दैमा रहेकाे छ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको मुद्दामा बुधबार तीनजना कानुन व्यवसायीले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस सकेका छन्। बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गर्ने छन्।
आजै सरकारी वकिलहरुले व्यापारी अग्रवाललाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको किनारा हुनुपर्ने जिकीर गर्दै बहस गरेका थिए। सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो। अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो।
काठमाडौं अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार अग्रवालविरुद्ध पाँच वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।
अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए। आइतबार काठमाडौं प्रहरी परिसर टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा बुझाएको थियो।
सबै कसूरमा गरेर अग्रवाललाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ। यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो।
अग्रवाललाई २५ चैतमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले नक्सालबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।