काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले पार्टीभित्र बढ्दै गएको विवादले अस्थिरता निम्तने भन्दै नेतृत्वलाई सचेत बनाएका छन्।
सामाजिक सञ्जालमा विरलै धारणा राख्ने भुसालले फुटका कारण विगतमा कम्युनिस्ट पार्टीमा लागेको चोटको समेत स्मरण गराएका छन्। पार्टीको एकता बचाउन मन्त्री भुसालले तीन सूत्र समेत सुझाएका छन्। लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न नेकपा नेताहरुलाई नहडबनाउन अनुरोध गरेका छन्।
तिक्तता मेट्न संवाद मार्फत संस्थागत प्रणाली खोजी गर्न उनले पार्टीका नेतृत्वलाई सुझाव दिएका छन्। गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि विवाद चरमोत्कर्षमा पुगेको छ। ओली विरोधी खेमाले उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतबाट हट्नुपर्ने अडान अघि सारेको छ। ओली समूहले आफ्नो पक्षका सांसद संख्या बहुमत रहेको दाबी गरेका छन्।
पार्टी विभाजनको संकेत समेत देखिएपछि नेता भुसालले विगतमा कम्युनिस्ट पार्टीका फुटले ल्याएको अस्थिरता स्मरण गराएका छन्। २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहेको उनले उल्लेख गरे। एमाले फुट्दा २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उनको ठहर छ।
२०६४/०६५ मा तत्कालीन नेकपा माओवादी प्रलयकारी रूपमा शक्तिका आएपनि विभाजनबाट अछुतो रहन नसकेको स्मरण गरे। पछिल्लो समय नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित भएपनि समस्या थपिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
नेकपामा भित्रिएको समस्याले उपयुक्त समाधान खोजेको उनको सामाजिक सञ्जाल मार्फत विचार व्यक्त गरेका छन्। अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै नेता भुसालले पार्टीमा जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।