काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा नेकपाका बहुमत सांसद उपस्थित भएको ओली पक्षले दावी गरेका छन्। बैठकमा नेकपाका १ सय ७४ मध्ये १ सय १५ जना सांसद उपस्थित रहेको ओली निकट स्रोतले दावी गरेका छन्।
भेलापछि सांसदहरुले हस्ताक्षर अभियान थालेको बालुवाटारमा उपस्थित सांसद कृष्ण राईले बताए। उनले प्रधानमन्त्री अल्पमतमा रहेको भन्ने बाहिर आइरहेका बेला बहुमत रहेको सन्देश दिन हस्ताक्षर थालिएको बताए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर थालिसकेका कारण शक्ति देखाउन हस्ताक्षर थालिएको हो।
प्रधानमन्त्री ओली पावर सेयरिङ गर्ने भन्दा पनि शो गर्ने मुडमा रहेको उनी बताउँछन्। भन्छन्, 'प्रधानमन्त्री पावरसेयरिङका पक्षमा हुनुहुन्न। परिआउँदा पावर शो चाहिँ गर्नुहुन्छ।'
यसैगरी ओलीले सत्ता परिवर्तनको खेलमा नलाग्न समेत निर्देशन दिएको उनले बताए। जनताले पाँच वर्षको स्थायी सरकारको म्यान्डेट दिएकाले सरकार परिवर्तनमा लाग्नु हितकर नभएको उनले बताएका छन्।
ओलीले कम्युनिष्ट पार्टी पतनका विभिन्न देशका इतिहास बताउन लामो समय लिएको बताएको भेलामा उपस्थित एक सांसदले बताए। उनले यतिबेला नेकपा पनि संकटमा रहेकाले संयमता अपनाउन आग्रह गरेका थिए।
उनले वर्तमान सरकार ठूलो जनमत प्राप्त गरेर गठन भएको बताउँदै नेतृत्व परिवर्तन गर्नु जनतालाई धोका दिनु भएको उल्लेख गरे। उनको भनाइ उद्घृत गर्दै सांसद नविना लामाले भनिन्, 'सरकारलाई अस्थिर बनाउन कोही लागेको छ भने त्यसलाई तपाईंहरुको एकताले परास्त गर्नुपर्छ। किनभने हामीले पाँच वर्षको म्यान्डेट लिएर आएका हौं।'
पार्टी एकताले मात्रै जनादेश पूरा गर्न सम्भव भएको बताउँदै स्थिर सरकारको पक्षमा रहन उनले पटक–पटक आग्रह गरे। पार्टी र सरकारको अस्थिरता तिर लाग्दा राम्रो नहुने भन्दै सांसदलाई सम्झाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।