काठमाडाैं- महामारीका बेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ। जिल्ला न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशमा अग्रवालको बयान सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए।
सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो। ‘एक वर्षसम्म सजाय भएका कसूर प्रशासनले हेर्ने गर्दछ। तर, अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा हिजो मुद्दा दायर भएको थियो।
काठमाडौं अदालतका श्रेस्तेदार श्रेष्ठका अनुसार अग्रवालविरुद्ध पाँच वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।
अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए। उनको कसूरमा बुधबार थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्ने कि थुनामा पठाउने भन्ने विषयमा निर्णय सुनाउने छ। आइतबार काठमाडौं प्रहरी परिसर, टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएको थियो।
सबै कसूरमा गरेर अग्रवाललाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ। यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो।
अग्रवाललाई २५ चैतमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले नक्सालबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।