काठमाडौं– वीरगञ्जमा बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो। वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।
नारायणी अस्पतालबाट यसअघि चार जना कोरोना संक्रमित निको भएर फर्किसकेका छन् भने पाँच जना उपचाररत छन्। अहिले थपिएका तीनसहित सो अस्पतालमा आठ बिरामीले उपचार गराइरहेका छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ। यीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। उदयपुर जिल्लामा सबैभन्दा बढी २८ जना कोरोना संक्रमित भेटिएका छन्।
कोरोना भाइरस संक्रमण भएर उपचाररत सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।