घाेराही- पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्। महराले बुधबार विज्ञप्ति निकालेर अहिलेको बिषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताए।
‘हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले आम जनता निराश बनेका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेका छन्।
नेपालको शान्तिप्रक्रिया पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका महरालाई राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र समन्वयकारी भूमिका निभाउने नेताको रुपमा लिइन्छ। तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीबाट गठन गरिएका सबै वार्ता टोलीमा महरा समावेश थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।