नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा मात्र कम्तिमा पनि २ सय जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार योसहित दिल्लीमा मात्र कोभिड-१९ का कारण ३ हजार १ सय ८ जना संक्रमित भएका छन्।
उनले भने‚ ‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २ सय जना स्वास्थ्यकर्मी कोभिड-१९ को बिरामी परेका छन्।’ उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए।
कोभिड-१९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित
तर उनले दिएको जानकरीअनुसार कोभिड-१९को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए।
उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए।
उनका अनुसार दिल्लीमा मात्र ३ हजार १ सय ८ जना संक्रमित भएकोमा ८ सय ७७ जना बिरामी निको भएका छन्। हाल त्यहाँ २ हजार १ सय ७७ संक्रमित उपचाररत छन्।
उनका अनुसार हिजोमात्र १ सय ९० जना संक्रमित दिल्लीमा थपिएका छन्। ५४ जनाको ज्यान गएको छ। नयाँ दिल्लीमा गएको १३ दिनमा कोभिड-१९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ।
स्वास्थ्यमन्त्री जैनले भने‚ ‘नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीव्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।