एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका विषयमा चीनले दिएको प्रतिक्रियाका बारेमा गम्भीर रुपले अनुसन्धान सुरु गरिएको बताएका छन्।
‘हामी चीनसँग खुसी छैनौं, किनकि यो भाइरस जहाँबाट सुरु भयो, त्यहीँ रोक्न सकिन्थ्यो’ ट्रम्पले भने, ‘तर चीनका कारण यो विश्वभर फैलिएको छ।’
अमेरिकी राष्ट्रपति लगातार चीनमाथि कोरोना भाइरसका विषयमा आक्रामक भइरहेका छन्। महामारीमा चीनले अन्य विश्वलाई बेवास्ता गरेको र सूचना लुकाएको आरोप उनले लगाउने गरेका छन्।
यो भाइरस फैलन रोक्नका लागि अमेरिका र चीनका बीच सीमा बन्द गरिएको तर पनि रोक्न चीनका कारण असफल भएको उनले बताए। तर केही स्वास्थ्य विशेषज्ञहरुले भने यो महामारी फैलनुमा चीन नभई ट्रम्प प्रशासन दोषी रहेको बताउँदै आएका छन्।
ट्रम्प प्रशासनले समयमै गतिलो तयारी नगर्दा अमेरिकामा भाइरस फैलिएको उनीहरुको बुझाइ छ। ट्रम्प प्रशासनका लागि महामारी फैलनवाट रोक्न समय र अवसर भए पनि तत्कालीन समयमा ख्याल नगरेको स्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन्। तर ट्रम्पले यसलाई स्वीकार गरेका छैनन्। ‘कोही स्वीकार गर्दैन तर जे भयो त्यसमा एकमात्र देश दोषी छ’, ट्रम्पले भने, ‘यो उत्पत्ति हुने स्थानमा यसलाई रोक्न सकिन्थ्यो।’
ह्वाइटहाउसमा आयोजित ब्रिफिङमा नोभेम्वरमा हुने निर्वाचनका बारेमा ट्रम्पसँग प्रश्न सोधिएको थियो। उक्त प्रश्नमा उनले अहिलेसम्म नसोचेको बताए। ‘मैले चुनावको मिति परिर्वतनका बारेमा सोचेको छैन, म यसो किन गर्छु र’, उनल भने, ‘३ नोभेम्वर राम्रो नम्वर हो, निर्वाचन स्थगन गर्ने हल्ला एक प्रोपोगान्डा मात्र हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।