भैरहवा–सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन अग्रपंक्तिमा रहेर जोखिमपूर्ण रुपमा गरिरहेका सुरक्षाकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरिएको छ।
रुपन्देही नागरिक समाज सिद्धार्थनगर नगर समितिले सुरक्षाकर्मीहरुलाई १० थान पीपीई उपलब्ध गराएको हो। प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय र जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादवको उपस्थितिमा समाजले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापालाई पीपीई सेट हस्तान्तरण गरेको हो।
कोरोना भाइरसको संक्रमणका बेला पनि लकडाउनलाई प्रभावकारी बनाउन अहोरात्र खटिएका सुरक्षाकर्मीहरुको लागि केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले पीपीई प्रदान गरिएको रुपन्देही नागरिक समाज सिद्धार्थनगर नगर समितिका अध्यक्ष अमितकुमार गुप्ताले बताए।
५० सेट पीपीई प्रदान गरिने कार्यक्रमअनुसार १० सेट पीपीई उपलब्ध गराइएको र केही दिनमा थप ४० सेट उपलब्ध गराइने बताए पाण्डेयले बताए। सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको अथक प्रयासले अन्य मुलुकको तुलनामा नेपाल सुरक्षित रहेको उनले बताए।
रुपन्देही नागरिक समाजका कोषाध्यक्ष चन्द्र रोकाले दोस्रो चरणमा विपन्न नागरिकलाई खाना खुवाउनेबारे समाजले सोच बनाएको बताए। लकडाउनको अवधिमा समाजले आवश्यक ठाउँमा सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।