काठमाडौं- सरकारविरुद्ध संघर्ष गर्ने विपक्षी दलहरुको निर्णयप्रति राप्रपामा विवाद भएको छ। राप्रपाका तीन अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले कांग्रेस र समाजवादी पार्टीसँग मिलेर ‘सरकारविरुद्ध संघर्ष’ गर्ने भनी गरेको निर्णयप्रति अर्का अध्यक्ष कमल थापाले तुरुन्तै असहमति प्रकट गरेका हुन्।
कांग्रेस पार्टी कार्यालयमा सोमबार दिउँसो भएको विपक्षी दलहरुको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको दाबी गर्दै विपक्षी सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो।
बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. लोहनीले हस्ताक्षर गरेर सार्वजनिक हुने बित्तिकै अर्का अध्यक्ष कमल थापाले राप्रपाको यतिबेला कसैविरुद्ध मोर्चाबन्दी गर्ने नीति नभएको बताएका हुन्। अहिलेको संकटको अवस्थामा राप्रपा राजनीतिक धुव्रीकरणको पक्षमा नरहेको थापाले प्रष्ट पारेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संकटको वर्तमान घडीमा राजनीतिक धुव्रीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त हुँदैन। दलहरुबीच मोर्चाबन्दी गर्ने, संयुक्त संघर्षमा जानेबारे राप्रपाले कुनै निर्णय गरेको छैन।’
तर राप्रपाले सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको सशक्त विरोध गर्दै आएको र भविष्यमा पनि गरिरहने थापाले जनाएका छन्। सत्तारुढ नेकपाभित्रैबाट सरकारमाथि प्रहार भइरहेका बेला विपक्षी दलहरुले पनि सरकारविरुद्ध एक भएर संघर्ष गर्ने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।