काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादको टुंगो लगाउन यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा निर्णायक छलफल भइरहेको छ। यद्यपि, कतिपय नेताले यो छलफलपछि पुनः पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच वार्ता हुन सक्ने बताएका छन्।
छलफलमा केपी ओली निकट मानिने ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दलभित्र ‘घेराबन्दी’मा परेका बेला ओली पक्षले बैठकमा नेपाल पक्षलाई के कस्ता प्रस्ताव लैजाँदै छ भनेर सोधखोज गरेका थियौं। छलफल सुरु हुनुअघि एक जना ओलीपक्षीय नेताले ‘केपी ओलीले बरु पार्टी अध्यक्ष छोड्न सक्ने तर प्रधानमन्त्री छोड्न नसक्ने’ प्रतिक्रिया हामीलाई दिए। बैठकअघि उनले भन्दै थिए, ‘छलफलमा नेपाल पक्षका साथीहरुले के कस्ता कुराहरु उठाउनुहुन्छ प्रस्तावको अर्थ त्यतिबेला मात्र सान्दर्भिक होला।’
उनले मुखै फोरेर ‘माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन ओलीको सहयोग रहने प्रस्ताव छलफलमा जाने’ त भनेनन्। तर घुमाउरो शैलीमा उनको भनाइ ओली पक्षले अन्तिम प्रयासका रुपमा यही सेरोफेरोमा प्रस्ताव अगाडि बढाउने कुरा स्वीकार गरे। उनले भने, ‘पार्टी पूर्णरुपमा एकीकृत भइसकेको छैन। प्रक्रियामा नै छ। दल एक गराउन अध्यक्ष ओलीको महत्वपूर्ण भूमिका रहेकाले उहाँले रोजेको बाटो हिँड्न अरु नेताले सघाउनुपर्छ भन्ने नै हो, हाम्रो कुरा। ओलीले प्रधानमन्त्रीबाट हट्नुपर्ने कारण छैन।’
यसअघि बालुवाटारमा भएको ओली–नेपाल ‘वन टु वन’ ओलीले यही प्रस्तावको सेरोफेरोमा रहेका आफ्नो धारणा वरिष्ठ नेता नेपाललाई सुनाएको स्रोतको दाबी छ। बालुवाटार वार्तामा नेता नेपालले ‘साथीहरुसँग सल्लाह गरेर मात्रै यस विषयमा टुंगोमा पुग्न सकिने’ बताएपछि ओली–नेपालले आ–आफ्ना पक्षका नेताहरुलाई छलफलको तयारी गर्न लगाएका थिए।
छलफलको तयारी हुँदै गर्दा हामीले नेपाल पक्षीय एक नेतालाई सम्पर्क गरेका थियौं। उनले यस विषयमा अहिले नै औपचारीक रुपमा केही नबोल्ने बताए। यद्यपि, उनले केपी ओलीले सरकार र दलभित्रको भूमिकाबारे पुर्नविचार गर्नुपर्ने अवस्था सृजना भएको स्वीकार्दै भने, ‘बाँकी कुरा छलफलपछि स्पष्ट होला। आशा गरौं नेताहरुबीच कुरा मिल्छ र अहिलेको मतभेद सल्टिन्छ।’
दलभित्र पछिल्ला दिनमा नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा आएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन्। केपी ओलीले दलभित्र सल्लाह नै नगरी दुई अध्यादेश ल्याएपछि उनलाई आफू इतरका खेमाबाट तीव्र आलोचना र दवाव झेलिरहनपरेको स्थिति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।