काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा गम्भीर छलफल भइरहेकाे छ। सरकारका काम कारबाहीसँगै अध्यादेशलाई लिएर पार्टीमा ध्रुवीकरण बढेपछि ओली र नेपालबी भेट भएको हो।
पार्टीमा बढ्दै गएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीलाई भेट्न नेपाल बालुवाटार गएको नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए। अरु नयाँ विषयमा छलफल गर्न होइन अहिले चलिरहेकै विषयमा कुराकानी गर्न नेपाल गएको उनले बताए।
‘हामीले स्थायी कमिटी बैठक माग गरेका छौं। प्रधानमन्त्रीले आलटाल गर्दै आउनु भएको छ,’ नेपाल निकट स्थायी कमिटी सदस्यले भने, ‘बैठकमा आफ्नो राजीनामाको विषय उठ्ने देखेपछि बैठक राख्न मान्नु भएको छैन।’ पार्टीमा आफ्नो राणनीति बनाउन नेपालले आफ्नो निवास कोटेश्वरमा आइतबार स्थायी कमिटी सदस्यहरुलाई बोलाएर परामर्श गरेका थिए। आइतबार परामर्श गरेपछि नेपाल ओलीलाई भेट्न बालुवाटार गएको ती नेताले बताए।
नेपाल समूह र अध्यक्ष प्रचण्ड समूहका नेताहरुले प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले नेपाललाई आफूतिर तान्न निक्कै बल गर्दै आएका छन्। गत फागुन १६ गतेको सचिवालय बैठकपछि नेपाललाई फकाउन ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायत नेताहरुले औपचारिक-अनौपचारिक भेटघाट गरेर नेपाललाई फकाउने प्रयास गर्दै आएका थिए।
यता ओलीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले अप्ठ्यारो पारेमा पार्टी फुटाउने चेतावनी दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।