काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महेन्द्रबहादुर पाण्डेले चीनका लागि नेपाली आवासीय राजदूतको पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
यसअघि ५ बैशाखमा राष्ट्रपति भण्डारीले पाण्डेलाई चीनका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गरेकी थिइन।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफारिस गरेको थियो।
सरकारको सिफारिसपछि संसदीय विशेष सुनुवाइ समितिले पाण्डेमाथि सुनुवाइ गर्दै गत चैत १० गते उनको नाम अनुमादेन गरेको थियो।
संसदीय सुनुवाइपछि पाण्डेको नाममा सहमतिका लागि चीन पठाइएको थियो। चीनले केही दिनअघि उनको नाममा अग्रिमो (सहमति) जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।