काठमाडौं-नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुको बैठक बोलाएको छ। सरकारका पछिल्ला कदमका विरुद्ध साझा धारणा तय गर्न कांग्रेसले बैठक बोलाएको जनाइएकाे छ।
सरकारले फिर्ता गरेको अध्यादेश, राहत वितरणमा गरेको भेदभाव लगायतका विषयमा छलफल हुने कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। उनले भने,‘सरकारको निरंकुशता र संविधान मिच्ने कार्यविरुद्ध सहकार्य हुन्छ। त्यसलाई कार्यरत एकता, मोर्चा/गठबन्धनजस्ता विशेषण दिनु आवश्यक छैन।’
अध्यादेश फिर्ता भए पनि सरकारका विवादित कामहरु अन्य पनि रहेको बताए। उनले भने,‘राहत दुरुपयोग र अपारदर्शी रुपमा वितरण गरिएको छ। सबै विषयमा हामी एकतावद्ध भएर अघि बढ्छौं।’ लोकतन्त्र र सुशासनमा विश्वास गर्ने दलहरु एकत्रित हुने उनले बताए। लकडाउनको समयमा र त्यसपछि सरकारका विरुद्ध गरिने गतिविधिमा बैठक केन्द्रित हुने उनले जानकारी दिए।
सांसद अपहरण प्रकरणमा प्रहरीले किटानी जाहेरी नलिएको विषयमा समेत छलफल हुने बताइएको छ। अध्यादेश कार्यान्वयनका क्रममा भएकाे सांसद अपहरणमा मुछिएकालाई छानबिन र कारबाहीको माग कांग्रेसले गर्दै आएको छ।
दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालयमा विपक्षी दलको बैठक बस्ने भएको हो। गत सोमबार सरकारले ल्याएको अध्यादेशविरुद्ध कांग्रेसले गत साता पनि संसदमा रहेका दलहरुको बैठक बोलाएको थियो। बैठकमा कांग्रेससहित जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।