काठमाडौं- राप्रपाका अध्यक्षत्रयको उपस्थितिमा वैशाख १४ गते बसेको परामर्श बैठकले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र सांसद अपहरणमा संलग्नहरुमाथि तत्काल छानविन गर्न माग गरेको छ।
देश कोभिड-१९ संक्रमणविरुद्ध एक ढिक्का भएर लाग्नुपर्ने घडिमा सत्तारुढ दल नेकपा आन्तरिक सत्ता र शक्ति संघर्षमा अलमलिन पुग्नु दुर्भाग्यपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ।
संविधानको भावनाविपरीत सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश त्यही विकृतिको पछिल्लो उदाहरण भएको राप्रपाको निष्कर्ष छ। संकटको अवस्थामा त्यस्तो गैरजिम्मेवार कार्य दोहरिन नदिन तथा राजनीतिक अस्थिरता, अन्यौल र अराजकता सिर्जना गर्ने कुनैपनि कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसँग राप्रपाले अपिल गरेको छ।
राप्रपाले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको तथा समाजवादी पार्टी फुटाउने प्रयासमा स्वयं सरकार र सत्तारुढ दल अनैतिक र आपराधिक गतिविधिमा संलग्न रहेको सार्वजनिक भएकाले त्यसको स्वतन्त्र छानविनको माग गरेको छ।
विगतमा राप्रपाले दिएका सुझावहरुतर्फ सरकारले गम्भीर ध्यान नदिएकोप्रति दुःख प्रकट गर्दै स्वास्थ्य सामग्रीहरुको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पुर्याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण कार्य व्यवस्थित र पारदर्शी गर्न,उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यवसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न पनि माग गरेको छ।
विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य र रोजगारी सुरक्षाको निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न राप्रपा आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।