काठमाडौं- संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओली सरकारले सबै कानुन लत्याएको र राज्यलाई नै अपराधीकरण गरेको आरोप लगाएका छन्। समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरणमा संलग्नमाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गर्दै किटानी जाहेरी लिएर पुगेका प्रहरी परिसर टेकुमा जाहेरी दर्ता नभएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
'जुन यो ओलीतन्त्र छ। यसले सबै कानुन लत्याएको छ, राज्य नै अपराधीकरण गरेको छ,' उनले भने। कुनै जाहेरी बिनै मुद्दा अघि बढाउनुपर्नेमा जाहेरी दर्ता गराउन आउँदा पनि ओली सरकारले मुद्दा दर्ता नगराएको भन्दै उनले सरकारमाथि तीखो आलोचना गरे।
पार्टीका नेताहरुसहित महानगरीय प्रहरी परिसर टेकु पुगेका भट्टराईले सांसद अपहरण हुनु सरकारवादी मुद्दा भएको बताए। जाहेरी दिनु नै नपर्ने मुद्दा भएको उनको दाबी थियो।
सुरक्षाकर्मीले जाहेरी दर्ता नगरिदिनुमा उनीहरुको दोष नभई प्रधानमन्त्रीकै दोष भएको उनले बताए। उनले भने, 'सुरक्षाकर्मीका पनि आफ्नै वाध्यता छन्। जाहेरी दर्ता नगर्न दबाब दिइएको छ।’
प्रमका निकटका रहेका र प्रहरी पूर्व प्रमुख रहनु संग्लनता भएको घटना दुखद भएको उनले बताए। प्रहरीले जाहेरी नलिएपछि सम्बन्धित निकायसँग कुरा गरि पार्टी अघि बढ्ने उनले बताए।
'कार्यकारी निकटका मानिस र पूर्व आइजिपीकै संलग्नतामा अपहरणको जुन घटना घट्यो। त्यसप्रति अत्यन्त चिन्तित छौं,' उनले भने। प्रहरी परिसरका कार्यालय प्रमुख उपस्थित नभएको र आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीले सो जाहेरी दर्ता गर्न नमानेको कारण देखाइदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।