काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टी भित्रैबाट समस्यामा पारेको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले स्विकारेका छन्।
गत सोमबार सरकारले ल्याएको अध्यादेश फिर्ता भएपनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक संकट थप बल्झिने संकेत थापाको ट्विटले गरेको छ। शनिबार प्रधानमन्त्रीसँग उपाध्यक्ष वामदेव गौतमले गरेको कुराकानीपछि विवाद थपिने देखिएको छ।
गौतमले हिजोको भेटलाई लिएर आएका समाचारलाई मनमौजी टिप्पणी भनी खण्डन गरेपनि विवाद बढेको थापाको ट्विटले स्पष्ट गरेको छ। विगतमा अस्थिर सरकार भएकाले जनताले नेकपालाई जिताइदिएको थापाले जनाएका छन्।
उनी लेख्छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पो भएछ।’
पार्टी एकता प्रक्रियामा गरिएको भागबण्डालाई समेत उनले प्रश्न उठाएका छन्। एकताका लागि बनाइएको भागबण्डाको परिणामको दुष्परिणाम पार्टीमा देखिएको उनले उल्लेख गरेका छन्। पछिल्लो पटक देखिएको विवादले जनमतको अपमान भएको उनको ठहर छ।
पार्टीभित्र एकताको सहमतिको उल्लंघन गर्दै षडयन्त्र र छलछामको पराकाष्ठा भएको उनले आरोप लगाए। उनी लेख्छन्, ‘पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा।’
प्रधानमन्त्री ओलीका कार्यशैलीको विरोधमा बैठक तथा अभिव्यक्ति दिने नेताहरुले सरकारलाई घेराबन्दी र स्थिरताविरुद्धमा चलखेल गरेको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।