जाजरकोट–जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ। घर्तीमाथि शनिबार भेरी नगरपालिका–१० फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो।
साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मलामी गएका बेला मेयर घर्तीलाई सत्तारूढ नेकपाका युवा संघ जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
उनले शाही र उनका भाइहरुको समूहले घर्तीमाथि ढुंगा र मुक्का प्रहार गरेको बताए। घर्ती नेकपाका कर्णाली प्रदेश समिति सदस्यसमेत हुन्।
नगरको योजना शाही समूहले नपाएको र आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताइएको छ। नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाही र शाहीलाई युवा संघबाट निलम्बन गर्न माग गरेको छ। नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।