काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउने कार्यमा संलग्नलाई कारबाहीको माग गरेका छन्।
राष्ट्रपतिबाट अध्यादेश फिर्ता लिए लगत्तै प्रधानमन्त्रीले देउवालाई भेटका लागि बोलाएका थिए। भेटमा देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान गरी सांसद अपहरणको शैली अपनाउनेलाई कारवाही गर्न माग गरेका थिए।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटबारे प्रेस नोट जारी गर्दै देउवाले अध्यादेश फिर्ता लिएकोप्रति सरकारलाई धन्यवाद दिएको जनाएका छन्।
देउवाले लकडाउनले शहर छोड्न लागेका श्रमिकलाई खाना‚ घर जान दिन सुझाव दिएका छन्। उनले राहत घोषणा अधुरो रहको तथा लक्षित वर्गमा पुग्न नसकेकोप्रति ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री निवासमा भएको भेटमा देउवाले दिएका सुझावहरुः
(१) दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।
(२) व्यापक परीक्षण अहिलेको आवश्यकता हो। समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौं।
(३) स्वास्थ्यकर्मीहरुलाई पिपिईलगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथाशीघ्र पुर्याउनुपर्यो। स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।
(४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्।
(५) राहत घोषणा अधुरो भयो, पुग्नुपर्नेकोमा अझै पुगेन।
(६) श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्।
(७) विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिट्यान्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्। त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।