भैरहवा- प्रदेश ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय सीमावर्ती क्षेत्रको निरीक्षणका लागि रुपन्देहीको कालीदह नाका पुगेका छन्। गत हप्ता भारतसँग जोडिएका जिल्लाको रोहिणी गाउँपालिकाका सीमा नाकामा करिब १६ किलोमिटर पैदल हिंडेर निरीक्षण गरेको पाण्डेय कालीदह नाका पुगेका हुन्।
सीमा निरीक्षण पश्चात बोल्दै सांसद पाण्डेयले रुपन्देहीको सुरक्षा अवस्था अन्य जिल्लाभन्दा राम्रो रहेको बताए। उनले सीमा नाकामा अहरोत्र खटने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए।
सीमा क्षेत्रमा सुरक्षा तैनाथीको अवस्था हेर्दा मान्छे त के जनावर समेत प्रवेश गर्न सक्ने अवस्था नरहेको उनको दावी छ। सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट वयरघाट कालीदहका प्रमुख सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापाले भारतबाट कुनै व्यक्ति पनि नेपाल प्रवेश गर्न नसकुन भनेर प्रहरी दिनरात नाकामा खटिएको बताए।
उनले पोष्टको कार्यक्षेत्र रहेको ६ किलोमिटरको दूरीमा उच्च सुरक्षा सतर्कता बढाइएको जानकारी दिए। लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सशस्त्र प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रत्येक वडामा स्थानीय भाषामा माइकिङ समेत गरिरहेको बताए। प्रदेशसभा सांसद पाण्डेयलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष मंजुर अली तथा प्रहरी चौकी कालीदहका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीले सीमा क्षेत्रको निगरानीबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।