काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले ऋण स्थगन र ऋण मोचनको माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुको वित्तीय क्षमता बढाउनुपर्ने बताएका छन्। कोरोना भाइरसका कारण अर्थतन्त्र संकटमा रहेको भन्दै खतिवडाले स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्नुपर्ने उल्लेख गरे।
विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को भिडियो कन्फ्रेन्समा खतिवडाले विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गरेका छन्।
कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयास बारे खतिवडाले जानकारी गराएका छन्।
संसारका सबै देश अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गरेका छन्। उनले सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रित गर्नुपर्ने पनि बताए।
कोरोना भाइरसले पुर्याउने आर्थिक क्षतिको पुनर्स्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने उनले उल्लेख गरेका छन्। खतिवडाले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको भन्दै नेपालले विगत तीन दशकदेखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उल्लेख गरे।
स्वास्थ्य क्षेत्र र संक्रमित रोगका विषयमा अनुसन्धान बढाउदै जाने सन्दर्भमा न्यून आय भएका मुलुकहरुमा बढिरहेको असंक्रमित रोगको चुनौती र प्रविधि हस्तान्तरणको समस्यालाई नजरअन्दाज गर्न नसकिने खतिवडाले बताए।
छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्व एशिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड १९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।