काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणपछि उपचाररत सबै जना निको भएर डिस्चार्ज भएका छन्। काठमाडौंमा ५ जना कोरोना संक्रमित भेटिएको र सबै जना उपचार पछि घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
बिहीबार मात्र पाटन अस्पतालमा उपचाररत २ जना निको भएपछि उपत्यकामा अब कोरोनाका बिरामी शून्य भएको हो। बिहीबार काठमाडौं सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जना निको भएर घर फर्किएका हुन्। निको हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन्। उनीहरुलाई वैशाख दुई गते कोरोना पुष्टि भएको थियो।
यसअघि शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा उपचाररत ३ जना नै घर फर्किएका छन्। काठमाडौंका २ र धादिङका १ जना गरी पाँचै जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशरभरमा ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। बिहीबारसम्ममा संक्रमितको संख्या भने ४७ पुगेको छ। यीमध्ये उदयपुरमा मात्र २८ जना कोरोना संक्रमित भेटिएका हुन्। नेपालका विभिन्न १० जिल्लामा कोरोना संक्रमित पाइएको छ। धनुषामा पहिलोपटक बिहीबार कोरोना संक्रमित व्यक्ति भेटिएका छन्।
हाल उपचाररत ३८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।