काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीको नेतृत्व महन्थ ठाकुरले गर्ने भएका छन्।
नेतृत्वकै हानथापमा पार्टी एकीकरणमा समस्या हुने देखिएपछि ठाकुरलाई नेता मान्न सबै तयार रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए।
पार्टी एकीकरणपछि नेतृत्वका विषयमा हुने सदाबहार लडाइँ यसपल्ट पनि कायम रहला नि? भन्ने नेपाल लाइभको प्रश्नको जवाफ दिँदै महतोले त्यस्तो समस्या नरहेको बताए। उनले भने, ‘नयाँ गठन हुने पार्टीको पहिलो नम्बरमा नाम महन्थजीको हुन्छ। कुरा मिलिसक्यो।’
एकल नेतृत्वको परिकल्पना भने उनको पार्टीले गरेको छैन। ठाकुरपछि वरियतामा भने सामूहिक नेतृत्व हुने सम्भावना छ। पार्टी गठन प्रक्रियाका क्रममा बाँकी जिम्मेवारी दिइने महतो बताउँछन्। नेतृत्वको विषयले असमझदारी नहुने उनले प्रष्ट्याएका छन्।
महतोसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।