काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले हतार-हतारमा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुलाई राष्ट्रपति एक गुटको मात्रै भएको सन्देश गएको बताएका छन्।
अलोकतान्त्रिक र संविधान विपरीतकाे अध्यादेश फिर्ता गर्न माग गर्दे नेता कोइरालाले बाह्य शक्तिलाई निम्त्याउने कार्य बन्द गर्न माग गरेका छन्। सरकारको कदमले मुलुक पुनः द्वन्द्व, राजनीतिक अस्थिरता र बाह्य शक्तिको चलखेलको भुमरीमा प्रवेश गर्ने निश्चित भएको उनले विज्ञप्ति मार्फत् जनाएका छन्।
कोभिड–१९ ले नागरिक घरभित्रै रहेको अवस्थामा अध्यादेश जारी हुनुलाई सरकार नागरिकप्रति उत्तदायी नभएको उनले उल्लेख गरेका छन्। सरकारको कदमप्रति विरोध जनाउँदै काेइरालाले भनेका छन्, ‘सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर छैन। सरकार जनमतको दुरुपयोग गर्दै सर्वसत्तावादतर्फ उन्मुख छ।’
अध्यादेश जारी गर्ने सरकारको कार्यले संसदीय व्यवस्था समाप्त हुने आशंका पैदा भएको उनले उल्लेख गरे। लोकतान्त्रिक संसदीय व्यवस्थाको रक्षार्थ कांग्रेस जस्तोसुकै कदम उठाउन पछि नपर्ने उनले बताए। संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान अध्यादेशमा निहीत राख्नुले संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षतविक्षत बनाएको नेता कोइरालाले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।