काठमाडौं- सिंहदरबारमा मंगलबारदेखि सोलार ऊर्जाबाट उत्पादित बिजुलीको प्रयोग सुरू भएको छ।
चीन सरकारको सहयोगमा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयका छानामा सोलार प्यानल राखेर एक मेगावाट क्षमताको बिजुली उत्पादन गरिएको हो।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा सौर्य ऊर्जाको शुभारम्भ गरेका हुन्। नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद दिएका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय लगायत विभिन्न मन्त्रालय तथा संस्थान गरी २१ वटा भवनको छानामा सोलार प्यानल राखेर सौर्य ऊर्जा उत्पादन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छानामा जडान गरिएको सोलार प्यानलको प्रधानमन्त्री ओलीले अवलोकन गरेका थिए।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यु होङले सौर्य ऊर्जा र जलविद्युत् आयोजना निर्माणमा चीन सरकारले नेपालमा लगानी गर्दै आइरहेको जानकारी दिइन्।
सिंहदरबार सोलार प्रोजेक्ट तोकिएको समयमै चीन सरकारले पूरा गरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ। दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो।
करिब ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ अन्तर्गत उत्पादित सोलार बिजुली नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।