काठमाडौं– कोरोना भाइरस संक्रमण रोक्न नेपालकाे दक्षिणतर्फको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन संसदीय समितिले सरकारलाई आग्रह गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन्।
'कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण उत्पन्न विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित चुनौतिपूर्ण विषम परिस्थितिका कारण स्वदेश तथा विदेशमा रहनुभएका नपाली नागरिकहरुले भोग्नुपरेको कठिनाई, नेपालको दक्षिण सीमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकहरु तथा पर्यटन व्यवसायीहरुलाई परेको समस्या सामाधान गर्न एवं दक्षिणतर्फको नेपालको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परिक्षणको प्रबन्ध मिलाउनु आवश्यक छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल र भारतबीच १ हजार ६ सय ९० किलोमिटर खुला सीमा छ। भारतमा कोरोनाबाट अहिलेसम्म ४ सय ४८ जनाको मृत्यु भइसकेको छ भने १३ हजार ४ सय ९५ जनालाई यसको संक्रमण भएको छ। विदेशमा रहेका नेपालीलाई नेपाली कूटनीतिक नियोगको नियमति सम्पर्कमा रहन र सकभर आफू रहेको स्थानमा सुरक्षित रहन उनको आग्रह छ।
निरौलाले भनेकी छिन्, ‘विदेशमा रहनुभएका नेपालीहरुलाई कुनै पनि समस्या परेमा सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगसँग सम्पर्क गर्न, कोरोनाको संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन, संक्रमण फैलन नदिन जो जहाँ छौं त्यहि नै रहनु हुन साथै नेपाल सरकारबाट जारी नीति–निर्देशनको अनुशरण गर्न र स्वास्थ्य विज्ञहरुको सल्लाह आत्मसाथ गर्न सबैमा हार्दिक आग्रह गर्दछु।’
अहिलेको असहज परिस्थितिमा तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नरहेको भन्दै उनले समितिका सदस्यहरुबीच छलफल र परामर्शका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।