काठमाडाैं- कोरोना भाइरसको त्रासका कारण शुक्रबार जिल्ला अदालत काठमाडौंमा एउटा पनि इजलाशले सुनुवाई गरेनन्। दैनिक आठ वटा इजलाश चलिरहेको जिल्ला अदालतमा कुनै पनि इजलाश नलागेको हो।
आजका लागि म्याद थप, बयानका र अन्य कार्यका लागि आठ वटा इजलाश तोकिएको थियो। तर, बिहीबार तीन वटा इजलाशले प्रतिवादीहरुलाई कोरोना परीक्षणपछि मात्र अदालतमा पेश गर्न आदेश गरेपछि आज एउटा पनि प्रतिवादीलाई म्याद थप वा बकपत्र गराउने कार्य नभएको जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।
जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेल, ऋिषिराम निरौला (बालबालिका हेर्ने) रामप्रसाद शर्मा, सुवासबाबु पुरी, ऋषिराम आचार्य, नवराज दाहाल, विदुर कोइराला र मुकेश उपाध्यायको मुद्दा सुनुवाई गर्ने पालो थियो। बिहीबार पाँच जना न्यायाधीशले थुनछेको आदेश गरेको थिए। तीन न्यायाधीशले भने प्रतिवादीलाई कोरोना परीक्षण गर्नुपर्ने भन्दै फर्काएका थिए।
परीक्षणको रिपाेर्ट नभएसम्म अभियोगपत्र दर्ता, म्याद थपलगायतका कार्य नगर्ने आदेश गरेकै दिन महान्यायाधीवक्ता कार्यालयको पहलमा भएको छलफलपछि अभियोगपत्र दर्ता र पक्राउ पनि अनिवार्य रुपमा कोरोना परिक्षण गर्ने निर्णय गरेको थियो। जिल्ला अदालतले भने अभियोग पत्रसँगै स्वास्थ्य प्रतिवेदन पेश गर्न भनेको छ।
आज पाँच प्रतिवादी जिल्ला अदालत पुगेका थिए। उनीहरुलाई परीक्षण प्रतिवेदनसहित आइतबार पेश गर्नु भनेर फर्काइएको श्रेष्तेदार श्रेष्ठले बताए। आज न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले कोरोना परीक्षणपछि मात्र प्रतिवादीहरु पेश गर्न आदेश गर्दै अदालत आएका उनीहरुलाई फर्काएकाे हाे।
उक्त इजलाशले अन्य सेवाग्राहीको आधारभूत स्वास्थ्य परीक्षण गरेर मात्र इजलाशमा प्रवेश दिने व्यवस्था मिलाउन भनेको थियो। विश्वभर फैलिइएको कोरोना भाइरसको त्रासका बीचमा अदालतका केही सेवा निरन्तर राख्ने निर्णय भएपछि जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।