काठमाडौं- नेपालमा कोरोना संक्रमित १६ मध्ये हाल १५ जनाको उपचार भइरहेको छ। एक जना भने उपचार गरी निको भएर फर्किइ सकेका छन्। पछिल्ला ७२ घन्टायता नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा कोरोनाको उपचार गराइरहेका १५ जनाकै स्वास्थ्य अवस्था समेत सामान्य नै रहेको समेत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।
मंगलबार थप दुई जना भेटिएसँगै संक्रमितको संख्या १६ पुगेको हो। पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो। बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको थिएन।
कोरोना भाइरसको उपचार गराइरहेका १५ मध्ये २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, २ जना पाटन अस्पताल, २ जना धौलागिरी अस्पताल, ५ जना सेती अञ्चल अस्पताल र ४ जना नारायणी अस्पतालमा छन्।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन। यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५ सय ६५ जनाको आरडीटीबाट परीक्षण गरिएको देवकोटाले बताए।
उनका अनुसार सोलुखुम्बु र डोल्पा बाहेक ७५ जिल्लामा आरडीटीबाट कोरोनाको परीक्षण सुरु भइसकेको र मन्त्रालयले सबै प्रदेशमा कुल ३० हजार आरडीटी किट पठाएको छ। काठमाडौं उपत्यकामा ५ र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भइ उपचाररत छन् । मुलुकभर हाल ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन्।
पिसिआर प्रविधिबाट कोरोना परीक्षणका लागि मन्त्रालयले पाटन अस्पतालमा उपकरण जडान गरेको छ। केही दिनमै परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ। यो सँगै पिसिआरबाट कोरोना परीक्षण हुने स्थानको संख्या १४ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।