काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रका समस्या समाधानका लागि द्रुत कार्य समूह गठन गरेको छ। लकडाउनका समयमा पनि खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सुचारु राख्ने निर्णय कार्यान्वयनका लागि सहजीकरण गर्न उक्त समूह गठन भएको हो।
लकडाउनका समयमा उत्पादन तथा आपूर्तिलाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ। अत्यावश्यक खाद्यवस्तु (खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, मह, दाना, अण्डा, च्याउ) आपूर्ति, ढुवानी तथा बिक्री वितरणलाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै कुखुरा, खसिबोका, पराल, भुसा, साइलेज, ढुटो, मौरीघार, गोबरमल, रासायनिक तथा प्रांगारिक मल, बीउबिजन, जीवनाशक विषादीहरु पशुपन्छीका औषधिहरु, दाना आहारा, चल्ला बेच्ने पसलहरुका सेवा स्थानीय प्रशासनसँग समन्वय गरी सुचारु गर्न मन्त्रालयले अनुरोध गरेको हो।
केही समस्या परेमा द्रुत कार्य समूहमा सम्पर्क गर्न समेत मन्त्रालयले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।