कीर्तिपुर (काठमाडौं)- कीर्तिपुर नगरपालिकाले कीर्तिपुर क्षेत्रमा बसोबार गर्ने त्रिभूवन विश्वविद्यालय क्याम्पसलगायतका विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ।
नगरपालिकाले शुक्रबार कीर्तिपुर विश्वविद्यालय क्याम्पसमा करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिका- ९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए।
संयोजक महर्जनले कुनै पनि विद्यार्थीलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए। कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थी सबैको आँकडा आउने क्रममा नै रहेकाले समस्या परेकालाई राहत उपलब्ध गराउने उनले बताए।
विद्यार्थीलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्राचार्य कृष्णप्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए। विश्वविद्यालय क्याम्पसमा अध्ययनरत करिब ५ सय जनाले राहत पाएको उनले बताए।
नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको छ। कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।