काठमाडौं- चितवनको क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा अज्ञात समूहले बम विस्फोट गराएको छ। मंगलबार राति साढे ८ बजे कन्स्ट्रक्सन कर्यालयको परिसरमा विस्फोट भएको हो।
घटना सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको र एक जनालाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार दिवस भुसाल नाम गरेका व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको कार्यालय परिसरमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेको छ। प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन।
नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलको निरीक्षण गरेको छ।
यसअघि चैत्र २० मा सिन्धुलीको हरिहरपुरगढीस्थित कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।