काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले सातवटै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीसँग भिडियो बैठक गरेका छन। कोरोना भाइरस (कोभिड १९) का कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा परेका समस्या, कृषि उपजको बजार पहुँचको अवस्था, किसानलाई राहत तथा अबको कृषि योजना र बजेट तथा प्राथमिकताबारे छलफल भएको मन्त्री भूसालको सचिवालयले जनाएको छ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि प्रायःजसो सबै क्षेत्रहरु प्रभावित बनेका छन्। कृषि तथा पशुपंक्षी क्षेत्रमा पनि त्यसको असर देखिएको छ। संघीय सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा कोभिड १९ का कारण परेको समस्याबारे अध्ययनसमेत थालिसकेको र सोही अध्ययनका आधारमा नयाँ योजना तथा राहत प्याकेज र बजेट प्राथमिकता निर्धारण गर्ने जनाएको छ।
लकडाउनका कारण कृषि उपज वस्तुहरु बजारमा पुग्न नसकेको र उत्पादन खेर गएको विषयमा पनि सबै प्रदेशका कृषि मन्त्रीहरुले चासो देखाएका छन्। शुक्रबार भएको प्रदेश कृषि मन्त्रीहरुसँगको छलफलमा मन्त्री भूसालले कृषि तथा पशु व्यवसायसँग सम्बन्धित वस्तुको बजारमा सहज पहुँचका लागि पहल गर्न प्रदेशमन्त्रीहरुसँग आग्रह गरेका छन।
किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्ने विषयमा पनि छलफल भएको र केही समयभित्रै संघीय सरकारबाट राहत कार्यक्रम सार्वजनिक गरिने विषयमा छलफल भएकोसमेत मन्त्री भुसालको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।