एजेन्सी- कोरोना भाइरसको प्रारम्भ र मृतकको संख्याबारे चीनले ढाँटेको भन्दै आलोचना बढिरहेको बेला चीनले कोरोनाको उद्गम स्थल वुहानमा मृतकको संख्या संशोधन गरेको छ।
चीनले शुक्रबार यस अगाडि सार्वजनिक गरेको तथ्यांकमा संशोधन गर्दै कोरोना भाइरस संक्रमणबाट मारिनेको संख्यामा १ हजार २ सय ९० थप गरेको छ। चिनियाँ अधिकारीहरुले सबैतिरबाट प्राप्त तथ्यांकमा मृतकको संख्या थप देखिएपछि तथ्यांकमा सुधार गरिएको दावी गरेको सिएनएनले जनाएको छ।
अमेरिका र बेलायतलगायतका केही देशहरुले चीनले कोरोना भाइरस संक्रमणको वास्तविकताबारे विश्वलाई बेलैमा जानकारी नगराएको र यसको प्रभाव र मृतकको संख्यासमेत लुकाएको भन्दै आलोचना गरिरहेका छन्। केही वैज्ञानिकहरुले कोरोना भाइरस ल्याबमा बनाइएको भाइरस भएको आशंका समेत गरिरहेका छन्।
इतिहास र मृतकका परिवारप्रति इमान्दार बन्दै नयाँ आएका संख्या जोडिएको चीनको दावी छ। चीनले सार्वजनिक गरेको कोरोना भाइरस संक्रमितको संख्यामा समेत ३ सय २५ जना थप भएको छ।
कोरोना भाइरस संक्रमण प्रारम्भिक चरणमा रहँदा उपचार सुविधाको अभावमा केही व्यक्तिकाे घरमै मृत्यु भएको, कोरोना संक्रमणको गति उच्च हुँदा स्वास्थ्यकर्मीहरु उपचारमा बढी केन्द्रित हुँदा गलत तथ्यांक टिपाएको र केही स्वास्थ्य संस्ठाबाट ढिला तथ्यांक आएको चीनको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।