काठमाडौं– नेपाल वायुसेवा निगमको ३२ वर्ष पुरानो बोइङ बिक्री प्रक्रियामा कोरोनाको प्रत्यक्ष असर देखिएको छ। कोरोनाकै कारण नेपाल वायुसेवा निगमले बिक्री गर्न लागेको बोइङ जहाजबाट हुने आम्दानी पनि डुब्ने जोखिम बढे्को हो।
निगमले ३२ वर्ष पुरानो बोइङ ६७ करोड रुपैयाँमा बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा पुराएको थियो।
बोइङ बिक्रीका लागि नेपाल वायुसेवा निगमले खरिदका लागि लिलामी प्रक्रियाबाट बढी रकम दिने भनी कबुल गरेको कम्पनीलाई दुई पक्षीय सम्झौताका लागि समेत पत्रचार गरेको थियो।
निगमले (नेपाल एयरलाइन्स)को ३२ वर्षे पुरानो जहाज बोइङ बिक्रीका लागि जनबरीमै पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीलाई पत्रचार गरको थियो।
तर, उक्त कम्पनी दुई पक्षीय सम्झौताका लागि आएन। जसका कारण निगमको बोइङ बिक्री प्रक्रियामा अन्योल आएको छ।
निगमको बोइङ फेब्रुअरीभित्रै उडान गरेर लैजानुपर्ने थियो। फेब्रुअरीभित्र उडान गर्न नसेको अवस्थामा उक्त जहाज कवाडीमा बिक्री गर्नुपर्ने अवस्थामा थियो। तर, कोरोनाका कारण उक्त जहाज बिक्रीका लागि दुई पक्षीय खरिद बिक्री सम्झौता हुन नसक्दा ६७ करोड रुपैयाँ डुब्ने जोखिम बढेको हो। निगमको बोइङ जहाज ५७ लाख १० हजार अमेरिकी डलरमा सिएसबिएसलाई बिक्री गर्ने निर्णय भएको थियो।
कम्पनीले पाँच कराेड बैना दिएकाे थियाे।
जहाज खरिदका लागि तीन वटा कम्पनीको आवेदन परेको थियो। बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए।
निगमले पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। तर, उक्त सूचनाको कुनै पनि कम्पनी नआएपछि तेस्रोत पटक तर सो भन्दा १९ लाख ६६ हजार अमेरिकी डलर कममा निगमले जहाज विक्री गर्ने निर्णय गरेको थियो।
विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगम थियो। उक्त जहाज सन् २०१८ को अक्टाेबरदेखि ग्राउन्डेड छ।
निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। निगमले पहिलो पटकको टेन्डरमा तोकेको न्यूनतम मूल्यमा विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो।
टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक पनि कुनै कम्पनीले आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी सूचना जारी गरेको थियो।
दुई पटकसम्मको आवेदनमा कसैले जहाज खरिद गर्ने ईच्छा नराखेपछि तेस्रोपटक जहाज बिक्रीका लागि लिलामी प्रक्रियाबाट कम्पनी छनोट गरेको थियो।
जहाज फेब्रुअरी महिनाभित्रै उडान गर्नुपर्ने बाध्यता भएपनि कोरानाका कारण समस्या आएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य प्रमाण पत्रको समय थप गर्नुपर्ने निगमका निमित्त महाप्रबन्धक गणेश बहादुर चन्दले बताए।
प्राधिकरणले उडानयोग्य प्रमाणपत्र थप नगरेको अवस्थामा जहाज बिक्रीबाट हुने आम्दानीका प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ। ‘विपदको समयमा प्राधिकरणले उडान योग्य समय थप्नु पर्छ,’ उनले भने, ‘निगमले पनि त्यसका लागि आवश्यक सबै काम गर्ने छ।’
यता प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने अहिले नै थप हुने वा नहुने विषयमा बोल्न नसक्ने जानकारी दिए। जहाजको सबै अवस्था हेरेर मात्रै उडान योग्य समय थप हुने वा नहुने विषयमा दुई पक्षीय छलफलबाट निर्णय हुने उनको भनाइ छ।
सम्बन्धित समाचारहरुः
नेपाल एयरलाइन्सको ३२ वर्षे बोइङ बिक्री प्रक्रियामा शंकैशंका
निगमको ३२ वर्ष पुरानाे बोइङ खरिदका लागि ३ कम्पनीको आवेदन
नेपाल एयरलाइन्सको ३२ वर्ष पुरानो 'कर्णाली' बोइङ बिक्रीको बाटो खुल्यो
बोइङ जहाज उडान नगर्ने नेपाल एयरलाइन्सको घोषणा
नेपाल एयरलाइन्सको बोइङ ५७ लाख १० हजार डलरमा बिक्री हुँदै
सिएसबिएसले किन्दै नेपाल एयरलाइन्सको बोइङ, मूल्य ५७ लाख १० हजार डलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।