काठमाडौं- कोरोना भाइरस उपचार कोषमा संघीय संसदका १ सय ९७ जनाले आर्थिक सहयोग गरेका छन्। उक्त कोषमा सत्तारुढ नेकपाका १ सय ९५ जना सांसदले सहयोग गरेका छन् भने प्रतिपक्ष नेपाली कांग्रेस र राजपाका कुनै सांसदले सहयोग नगरेको संसद सचिवालयले जनाएको छ।
चैत महिनाको तलब सेवाबाट उनीहरुको कोरोना भाइरस उपचारमा कोषमा रकम कट्टी गरिएको संघीय संसद सचिवालयले जनाएको छ। उनीहरुले आधा महिनाको तलब कोषमा जम्मा गरिदिन नेकपा संसदीय दलले आग्रह गरेको थियो।
यसैगरी संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले एक महिनाको तलब ६४ हजार ७० रुपैयाँ नै कोषमा जम्मा गराउन लगाएका छन्। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आधा महिनाको तलब ३२ हजार ३५ रुपैयाँमा कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई भनेकी छिन्।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाको एक महिनाको तलब ६७ हजार ३ सय २०, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६७ हजार ३ सय २० र उपाध्यक्ष शशिकला दाहालको ७० हजार ७ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ।
सभामुख र अध्यक्ष बाहेकको तलब गएको साउन १ गतेदेखि वृद्धि भएको तर उनीहरुको हकमा समिति निर्माणमात्रै भएको छ । त्यसैले सभामुख र अध्यक्षको तलबभन्दा माननीय उपाध्यक्ष दाहोलको तलब बढी देखिएको छ।
दुवै सभाका प्रमुख, उपप्रमुख र सांसदको निजी सचिवालयबाट २१ लाख ४६ हजार ८ सय ५६ रुपैयाँ, सचिवालयका स्थायी कर्मचारीबाट ११ लाख १७ हजार ९ सय ७९ रुपैयाँ र करारका कर्मचारीबाट २ लाख ६३ हजार ९ सय रुपैयाँ उक्त कोषमा जम्मा भएको छ।
सवै गरेर संघीय संसदबाट एक करोड एक लाख ३२ हजार ८ सय रुपैयाँ जम्मा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।