काठमाडौं–एनपीएल अन्तर्गत अन्तिम खेलमा कर्णाली याक्ले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ८ विकेट गुमाई १५३ रन बनाएको हो ।
कर्णालीका लागि हुसैन तलातले अर्धशतक प्रहार गरे । ३३ बलमा दुई चौका र तीन छक्कासहित अविजित ५१ रनको पारी खेले ।
यस्तै आरिफुल इस्लामले १५ बलमा ३५ रन बनाउँदा गुल्शन झाले १८, पवन सर्राफले १५ रन बनाए । सिजनभर ब्याटिङमा चल्न नसकेका मार्क वाटले आज पनि ६ रन मात्र जोडे । आफ्नो पहिलो खेलमै ९३ रनको पारि खेलेका डेभिड मिलर पनि त्यसयताका आजको खेलसम्म चल्न सकेनन् ।
आजको खेलमा उनले मात्र ५ रन बनाउँदा दीपक डुम्रेले ७ रन बनाए भने सोमपाल कामीले ४ रन बनाए । सचिन शर्मा शून्यमा आउट हुँदा नन्दन यादव २ रनमा अविजित रहे ।
यता बलिङमा चितवनका लागि कमलसिंह ऐरी, सलाउद्दिन खान र उस्मा मीरले २/२ विकेट लिँदा रिजन ढकाल र सिकन्दर राजाले १/१ विकेट लिए । प्लेअफमा आफूलाई बलियो बनाउनका लागि चितवनलाई जित आवश्यक छ । चितवन ७ अंकसहित चौथो स्थानमा रहेको छ भने कर्णाली प्ले अफ दौडबाट बाहिरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।