काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्ति लगायतका एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजिपीले अवकाश पाउन लागेकाले सरकारले दुवै संगठनमा नयाँ आइजिपी नियुक्ति गर्न लागेको हो।
एक मन्त्रीले मंगलबारको बैठकमा आईजिपी नियुक्ति हुने प्रबल सम्भावना रहेको बताए।
स्रोतका अनुसार दुवै संगठनमा नयाँ आईजिपी नियुक्तिका लागि गृह मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ। सोमबारदेखि गृह मन्त्रालयमा हाजिर भएका सचिव प्रेम कुमार राईले यस विषयमा गृहकार्य अघि बढाएका हुन्। प्रधानमन्त्रीकै निर्देशनमा गृह मन्त्रालयले गृहकार्य अघि बढाएको हो।
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरी बलका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्।
नेपाल प्रहरीमा आइजिपीको दौडमा डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायत छन्। सशस्त्र प्रहरीमा एआइजी सर्वेन्द्र खनाल अरु भन्दा ११ महिना सिनियर भएकाले आइजिपीमा उनको सम्भावना बढी भएको स्रोत बताउँछ।
आइजिपी बढुवामा यसपटक विगतमा जस्तो अस्वस्थ प्रतिस्पर्धा भएको छैन।
तर, आइजिपी बढुवामा सर्वोच्च अदालतले दिएको आदेश र प्रहरी नियमावलीको प्रावधानले नियुक्ति प्रक्रियामा अन्यौलता छ। सर्वोच्च अदालतले कार्यसम्पादन मुल्याङकन नम्बरको आधारमा आइजिपी नियुक्ति गर्न सरकारलाई आदेश दिएको थियो। प्रहरी नियमावलीले भने आइजिपी नियुक्तिका लागि सरकारलाई स्वविवेकी अधिकार दिएको छ।
अदालतको आदेशअनुसारको प्रक्रिया अघि बढाउँदा पनि बढुवाका सबै आकांक्षीहरु डिआइजी भएको १ वर्ष पनि नभएकाले उनीहरुको डिआइजी पदको कार्यसम्पान मूल्याङकन नै भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।