भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले शिक्षा ऐन, २०७५ जारी गरेको छ। गाउँपालिकाले राखेको गाउँ परिषद्द्वारा शिक्षा ऐन पारित भएको हो।
परिषद्मा शिक्षा ऐनको कार्यपत्र तथा ऐनबारे गाउँपालिकाका शिक्षा प्रमुख हरि पोखरेलले ५० बुँदे मस्यौदा प्रस्तुत गरेका थिए। मस्यौदामाथि छलफल गरेर पारित गरिएको शिक्षा ऐन यसै शैक्षिक सत्रदेखि लागू हुने गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले बताए।
अध्यक्ष राहुलले भने, ‘शिक्षा ऐनमा गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई सामुदायिक स्कुलमै पढाउनुपर्ने प्रावधान छ।’
शिक्षा ऐनमा विद्यालय नजिक उद्योग निर्माण, विद्यालय स्थापना तथा बन्द नीति, परीक्षा सञ्चालन, समन्वय तथा गुणस्तर मापन, पाठ्यक्रम, माध्यामिक शिक्षाका विभिन्न प्रकार, गाउँ शिक्षा समिति, शुल्क सम्बन्धी व्यवस्था, शिक्षक तथा कर्मचारी नियुक्ती र सरुवा, सेवा सुविधा, प्रगति विवरण, शैक्षिक परामर्श सेवा, व्यवस्थापन, प्रोत्साहन तथा दण्ड सजाय लगायतका नीति तथा कार्यक्रमहरु शिक्षा ऐनमा पारित भएको छ।
शिक्षा विभाग प्रमुख पोखरेलले शिक्षाविदसँग छलफल गरेर तयार पारिएको मस्यौदालाई गाउँपरिषद्बाट सर्वसम्मतले पारित भएको जनाए। शिक्षा समितिको गठन प्रक्रियामा केही सदस्य थप हुनुपर्ने भन्दै छलफलमा आएपछि सो बुँदालाई अर्को बैठकमा समावेश गरी संशोधन गर्नेगरी ऐन पारित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।