काठमाडौं- नेपाली सेनाले काठमाडौं– तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रियालाई पारदर्शी र नियमसम्मत रहेको बताएको छ। सार्वजनिक खरिद ऐन र आफैंले बनाएको कार्यविधिभन्दा बाहिर गएर कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसन जेभीलाई परियोजना सुपरीवेक्षणको जिम्मा दिएको भन्दै विवाद भएको थियो।
सेनाले भने परामर्शदाता छनोट प्रक्रिया जारी रहेको बताएको छ। ‘संमग्र राष्ट्र विकासमा महत्व राख्ने राष्ट्रिय गौरबको यस काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना महत्वपूर्ण सार्वजनिक बृहत् हितसँग गाँसिएको र नेपाल सरकारबाट तोकिएको समयसीमा भित्र सम्पन्न गर्नु पर्ने गहन जिम्मेवारी नेपाली सेना सामु रहेको हुँदा विषयको गम्भीरतालाई मध्यनजर राखी निष्पक्ष रुपमा कुनै पनि प्रस्तावक कम्पनी उपर आग्रह/पूर्वाग्रह नराखी पारदर्शी र नियम कानुनसम्मत विधि प्रक्रिया अपनाई मूल्यांकनको आधारमा आयोजना कार्यान्वयनका लागि अत्यावश्यक अन्तर्राष्ट्रिय परामर्शदाता खरिद प्रक्रियालाई जारी राखिएको छ,’ आयोजनाको हालसम्मको प्रगतिबारे विवरण सार्वजनिक गर्दै सेनाले भनेको छ।
सेनाले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना महामारीका कारण आयोजना निर्माण कार्य समेत प्रभावित हुन गएको बताएको छ। निर्माणाधीन ठेक्का प्याकेजहरुमा अधिकांश साईटहरु बन्द भएको र केहि साईटहरु आशिंक रुपमा चालु रहेको सेनाले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।